काठमाडौँ । नेपाली काँग्रेसको विशेष महाधिवेशन पक्षधरले महिला भेलाको आयोजना गरेको छ ।
विशेष महाधिवेशनका लागि पार्टीमा हस्ताक्षर बुझाएको समूहले बिहीबार बिहान साढे ११ बजे काठमाडौँको नयाँ बानेश्वरस्थित थापागाउँमा रहेको अर्पण ब्यांक्वेटमा भेला गर्न लागेका हुन्।
काँग्रेस केन्द्रीय सदस्य प्रतिमा गौतमले आज महिला भेला रहेको जानकारी दिइन्।
विशेष महाधिवेशन पक्षधरले २९ असोजमा १४औं महाधिवेशनका झण्डै ५४ प्रतिशत प्रतिनिधिको हस्ताक्षर कार्यवाहक सभापति पूर्णबहादुर खड्कालाई बुझाएको थियो ।
झण्डै एक महिनादेखि जारी काँग्रेसको केन्द्रीय कार्यसमिति बैठकमा महाधिवेशनको विषयमा विवाद छ । संस्थापन पक्षले २१ फागुनका लागि तय भएको निर्वाचनपछि मात्रै महाधिवेशन गर्नपर्ने बताइरहेको छ ।
काँग्रेसको संस्थापन इतर समूह भने निर्वाचन अगावै पार्टीको नियमित महाधिवेशन हुनुपर्ने अडानमा छ । आगामी पुसमा नियमित महाधिवेशन नभए विशेष महाधिवेशनमा जानुपर्ने इतर समूहको तर्क छ ।
तर संस्थापन पक्षका नेताहरू विशेष महाधिवेशनमा गए पार्टी विभाजन हुनसक्ने भन्दै गर्न नहुने पक्षमा छन्। आज महिला भेला राखेको विशेष महाधिवेशन पक्षधरले भोलि युवा भेला डाकेको छ।








