काठमाडौँ । एमाले अध्यक्ष केपी शर्मा ओलीले अनेरास्ववियुमा उमेर हदलाई वैधता दिएर गल्ती गरेको बताएका छन् ।
अनेरास्ववियुमा पूर्वपदाधिकारीहरू समिक बडाल, नरेश रोकाया, मनोज ताम्ली, वर्तमान उपाध्यक्ष अन्जना शिवाकोटी, महासचिव दीपक धामी लगायत विद्यार्थी नेताहरूसँग छलफलका क्रममा ओलीले यस्तो बताएका हुन् ।
छलफलमा सहभागी अनेरास्ववियुका एक नेताका अनुसार ओलीले सबैको सामुन्ने गल्ती स्वीकार गरेका हुन् । ओलीले भनेका थिए, ‘जनसंगठन संयन्त्रका प्रमुख भानुभक्त ढकालले उमेरहदको एजेन्डा ल्याए, जसमा महासचिव शंकर पोखरेलको समेत संलग्नता थियो । त्यसलाई मैले अनुमोदन गरेँ । त्यही कारण उमेर हद लाग्यो । डा। सुजन कडारिया अध्यक्ष भए । जुन अध्यक्षले संक्रमणकालीन समयको प्रतिवाद गर्न नसकेर राजीनामा दिए ।’
अनेरास्ववियुका निवर्तमान महासचिव नरेश रोकायाले डा. कडारियालाई बोकेर आएपछि आफूले आधिकारिक उम्मेदवार बनाउने निर्णय गरेको ओलीको भनाइ थियो । गत आइतबार रातको नौ बजेदेखि मध्यरातिसम्म तीन घण्टा छलफल चलेको थियो ।







