काठमाडौँ । नेपाल निजामती कर्मचारी संगठनले लेखा समूहका कर्मचारीहरूको दरबन्दी कटौतीका विषयमा गम्भीर ध्यानाकर्षण गराएको छ ।
संगठनले मंगलबार जारी गरेको विज्ञप्तिमा देशमा बढ्दो बेरोजगारी, विदेशी रोजगारतर्फ बढ्दो आकर्षण र विभिन्न कार्यालयहरूमा कर्मचारी अभावको अवस्थामा लेखा समूहका दरबन्दी कटौती हुनु गम्भीर विषय रहेको उल्लेख गरेको छ ।
विज्ञप्तिमा लेखा समूहका कर्मचारीहरूको दरबन्दी घटाउँदा लेखा प्रशासन प्रणाली, पेन्सन भुक्तानी, सेवाको सुरक्षा, तत्कालीन र दीर्घकालीन वित्तीय विकासमा नकारात्मक असर पर्ने बताइएको छ ।
संगठनका अध्यक्ष सुनिल न्यौपानेद्वारा हस्ताक्षरित ध्यानाकर्षण पत्रमा भनिएको छ, “दरबन्दी कटौती केवल संख्यात्मक विषय होइन, यसले हजारौँ कर्मचारीको रोजगारीमा असर पुर्याउनेछ र राष्ट्र सेवामा अवरोध ल्याउनेछ । लेखा समूहको संरचना सुदृढ बनाउनका लागि सरकारलाई तत्काल कदम चाल्न आग्रह गर्दछौँ।”








