काठमाडौँ । जिल्ला प्रहरी कार्यालय कास्कीले जिल्लाको पछिल्लो शान्ति सुरक्षाको अवस्था, प्रहरीको काम कारबाही, अपराध रोकथाम, नियन्त्रण तथा अनुसन्धान लगायतका विषयमा जानकारी गराएको छ ।
कार्यालयका तर्फबाट आज आयोजित पत्रकार सम्मेलनमा जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख प्रहरी उपरीक्षक नवीन कार्कीले जिल्लाको समग्र शान्ति सुरक्षाको अवस्थाबारे जानकारी गराएका हुन् ।
जेनजी आन्दोलन पश्चातको विषम परिस्थितिमा शान्ति सुव्यवस्था कायम गराउने कुरालाई उच्च प्राथमिकतामा राख्दै कार्यालय अघि बढिरहेको उनले बताएका छन् । जिल्ला प्रहरी कार्यालय कास्कीसहितका कार्यालयको तोडफोड तथा आगजनीसँगै सुरक्षाकर्मीका केही हातहतियारका साथै पोसाकसमेत आन्दोलनका क्रममा लुटिएको अवस्थामा समग्र सुरक्षा व्यवस्थालाई सहज बनाउने गरी निरन्तर काम भइरहेको उनले जानकारी दिए ।
प्रमुख कार्कीका अनुसार यसबीचमा कार्यालयले जिल्ला प्रहरी कार्यालय कास्की र मातहत कार्यालय तोडफोड तथा आगजनी गर्ने १८ जनालाई पक्राउ गरेको छ ।
प्रहरीले मोटरसाइकलको स्वरूप परिवर्तन गरी ठुलो आवाज निकाली ध्वनि प्रदूषण गर्ने गरेको जनगुनासोलाई दृष्टिगत गरी सञ्चालन गरेको अपरेशन ३६५ अन्तर्गत हालसम्म १३३ वटा सवारीसाधन पक्राउ गरिएको उनले जानकारी दिए ।
पक्राउमध्ये २८ जनालाई अभद्र व्यवहारसम्बन्धी मुद्दा र १६ जनालाई सम्झाइबुझाइ परिवारको जिम्मा लगाइएको उहाँले जानकारी दिए । उनका अनुसार आन्दोलनका क्रममा कारागार कास्कीबाट फरार ७७३ मध्ये ५२० जना, बाल सुधार गृहबाट फरार १०६ मध्ये ९१ जना, जिल्ला प्रहरी कार्यालय कास्कीबाट फरार १०६ थुनुवामध्ये ९१ जना, वडा प्रहरी कार्यालय बगरबाट फरार १२ मध्ये एक जना र वडा प्रहरी बैदामबाट फरार ३३ थुनुवामध्ये २६ जना पक्राउ परेका छन् । अन्यको खोजी भइरहेको प्रहरीले जनाएको छ ।







