इटहरी । पूर्वी पृतनाको जिम्मेवारी क्षेत्रअन्तर्गतका जिल्लाहरूमा रहेका विभिन्न सञ्चार माध्यममा आबद्ध २३ जना सञ्चारकर्मीहरूको सहभागितामा “रक्षा संवाददाता अभिमुखीकरण कार्यक्रम आज(सोमबार) पूर्वी पृतना हे.क्वा, इटहरीमा सुरु भएको छ।
कार्यक्रमको उद्घाटन गर्दै पूर्वी पृतनाका पृतनापति उपरथी गौरव कुमार के.सी.ले सहभागी सञ्चारकर्मीहरूलाई स्वागत गर्दै कार्यक्रमको सफलताको शुभकामना व्यक्त गरे । उनले सञ्चारकर्मीहरू नेपाली सेनाको गतिविधि, जिम्मेवारी र राष्ट्रिय सुरक्षासँग सम्बन्धित विषयहरूमा जनचेतना फैलाउने महत्त्वपूर्ण माध्यम भएको उल्लेख गर्दै अभिमुखीकरण कार्यक्रमले सञ्चारकर्मी र सेनाबीचको आपसी समन्वय अझ सुदृढ हुने विश्वास व्यक्त गरे ।
चार दिनसम्म सञ्चालन हुने उक्त अभिमुखीकरण कार्यक्रममा नेपाली सेनाको सङ्गठनात्मक स्वरूप, जिम्मेवारी तथा भूमिका, मुख्य गतिविधिहरू, विपद् प्रतिकार्य र समसामयिक विषयहरूमा जानकारीमूलक प्रस्तुतीकरण र अन्तरक्रिया सत्रहरू सञ्चालन गरिनेछ।








