काठमाडौँ । गत भदौ २३ र २४ गते भएको ‘जेनजी’ युवाहरूको आन्दोलनका क्रममा ट्राफिक प्रहरी कार्यालयमा जलेका सवारीसाधनका कागजातको पुनः प्राप्तिका लागि निवेदन दिन सेवाग्राहीले प्रहरी कार्यालय धाउनु नपर्ने भएको छ ।
जलेका कागजातको पुनः प्राप्तिका लागि अनलाइन प्रणालीमार्फत सेवा लिन सकिने जनाइएको छ । आगजनीका कारण ट्राफिक कार्यालयमा रहेका सवारीसाधनका कागजात, सवारी चालक अनुमति पत्र, दर्ता किताब, जरिवाना विवरणलगायतका महत्त्वपूर्ण सरकारी कागजात जलेर नष्ट भएका थिए ।
काठमाडौँ उपत्यका ट्राफिक कार्यालयको वेबसाइटमा ‘कागजात हराएमा’मा क्लिक गरी फारम भर्न सकिने उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।
निवेदन समिट भएपछि आवेदन नम्बर आउँछ । पछि चेक एप्लिकेसनमा उक्त नम्बर राख्दा क्युआर कोडसहितको सिफारिस पत्र सेवाग्राहीले प्राप्त गर्छन् ।
साथै कुनै व्यक्तिको कागजात जलेको छ र ट्राफिक प्रहरीले पहिले नै काटेको २४ घण्टे पुर्जी वा सिफारिस पत्रका आधारमा हाललाई सवारीसाधन सञ्चालन गर्न सकिने जनाइएको छ ।







