काठमाडौँ। नेपालगन्जस्थित भेरी अस्पतालको प्रशासनले अस्पताल फार्मेसीका दुई जना कर्मचारीलाई तत्कालका लागि निलम्बन गरेको छ ।
बीमामा आबद्ध भएका एक जना बिरामीलाई औषधी फिर्ता गरेर सो बापतको रकम नगदमा फिर्ता गरेको पाइएपछि दुई जना कर्मचारीलाई तत्कालका लागि निलम्बन गरेर स्पष्टीकरण सोधिएको अस्पतालका प्रमुख मेडिकल सुपरिन्टेन्डेन्ट डा. नीराजन सुवेदीले बताएका छन् ।
एक जनालाई शुक्रबार र अर्कोलाई मंगलबार निलम्बन गरिएको उनले बताए । उनीहरूमाथि आन्तरिक अनुसन्धान भइरहेको पनि अस्पताल प्रमुख डा. सुवेदीले बताए ।
निलम्बित कर्मचारीले दिने स्पष्टीकरणका आधारमा थप कारबाही प्रक्रिया अगाडि बढाइने पनि उनले जानकारी गराएका छन् । अस्पतालको फार्मेसीलाई व्यवस्थित बनाउनुका साथै अस्पतालका सेवा सुविधालाई सहज र सरल बनाउनका लागि अनुगमनलाई समेत तीव्र पारिएको अस्पताल प्रशासनले जनाएको छ ।







