काठमाडौँ । मेलम्ची खानेपानी विकास समितिको कार्यकारी निर्देशकमा जगरनाथ दास नियुक्त भएका छन्।
मन्त्रिस्तरीय निर्णयअनुसार दासलाई कार्यकारी निर्देशकको जिम्मेवारी प्रदान गरिएको खानेपानी मन्त्रालयले जनाएको छ। यसअघि उनी खानेपानी तथा ढल व्यवस्थापन कार्यालय, जनकपुरका कार्यालय प्रमुखका रूपमा कार्यरत थिए। उनले आइतबार कार्यकारी निर्देशकको पदभार ग्रहण गरेका छन्।
त्यसैगरी मेलम्ची खानेपानी विकास समितिका तत्कालीन कार्यकारी निर्देशक ई. रत्न लामिछानेलाई खानेपानी तथा ढल व्यवस्थापन विभागको उपमहानिर्देशकमा नियुक्त गरिएको छ। विभागको परिवर्तित स्थायी संरचना अनुसार तीन जना उपमहानिर्देशकको दरबन्दी रहेकामा हाल तीनै पदमा नियुक्ति गरिएको छ।
पछिल्लो समय खानेपानी मन्त्रालयमा कर्मचारी व्यवस्थापनसम्बन्धी निर्णयलाई लिएर विवाद बढ्दो छ। एक दर्जनभन्दा बढी सहसचिवलगायतका कर्मचारीहरूको सरुवामा पनि मन्त्री प्रदीप यादवले हतारमा निर्णय गरेको आरोप छ। विशेषतः क्षेत्रीय स्तरका आयोजनामा सहसचिवको दरबन्दीमा निमित्त पठाउँदै मन्त्री यादवले रातारात निर्णय गरेका छन्।
सहसचिवहरूलाई आयोजनामा थन्क्याएर उपसचिवस्तरका कर्मचारीलाई क्षेत्रीय प्रमुख बनाइने निर्णयको विषयलाई लिएर मन्त्रालयभित्र चर्को विवाद र बहस भइरहेको छ।







