काठमाडौँ । प्रधान न्यायाधीश प्रकाशमान सिंह राउतले आफू एक्लैले सबैको चित्त बुझाउन नसक्ने भन्दै गुनासो पोखेका छन् ।
राष्ट्रिय न्यायिक प्रतिष्ठानले पत्रकारहरूसँग आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा बोल्ने क्रममा उनले यस्तो गुनासो गरेका हुन् ।
न्यायाधीश नियुक्ति पनि आफू एक्लैले गर्न नसकिने उनले बताएका छन् ।
‘प्रधान न्यायाधीशले मात्रै न्यायाधीश नियुक्त गर्न नसक्ने रहेछ । न्यायपरिषदमा रहेका ५ जना सहमति र समन्वयमा नियुक्ति गर्नुपर्छ, समय लाग्ने रहेछ,’ राउतले भने ।
तैपनि तीनवटै तहमा लगभग न्यायाधीशहरू नियुक्त भइसकेको उनको भनाइ थियो । सीमित संख्याको पदले मात्रै नेपाल बार एशोसियसनको आकांक्षा पूरा गर्न नसकिने प्रधानन्यायाधीश राउतको भनाइ थियो ।
‘प्रधान न्यायाधीश एक्लैले सबैको चित्त बुझाउन सक्दैन । सबै न्यायालयको हुर्मत लिने गरी आउँछन्, बोलिदिने कोही छैन,’ उनको गुनासो छ ।
पछिल्ला वर्षहरूमा अदालतमा मुद्दा बढेको बताउँदै त्यसलाई उनले अदालतप्रति जनविश्वास बढेको सूचकको रूपमा लिएको बताए ।
‘तर अदालतको हुर्मत लिने गरी सूचना सम्प्रेषण नहोस्,’ प्रधानन्यायाधीश राउतले भने, ‘६० वर्ष नाघेका न्यायाधीश १६-१८ घण्टा काम गरेका छन् । यो कुरा हेक्का राख्नुपर्छ ।’







