काठमाडौँ । तनहुँको भानु नगरपालिका-२ भकुन्थोकबाट बेपत्ता भएका तीन किशोरी परिवारको सम्पर्कमा आएका छन् ।
१५ वर्षीया अस्मिता तामाङ, १६ वर्षीया सम्झना सुनार र १५ वर्षीया सीता सुनार गत सोमबारदेखि बेपत्ता भएका थिए । सोमबार बिहान विद्यालय जान घरबाट निस्किएका उनीहरू विद्यालय नगई बेपत्ता भएका थिए ।
उनीहरू परिवारको सम्पर्कमा आएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक अशोक थापाले जानकारी दिए। किशोरीहरूले आफूहरूलाई खोज्न पर्दैन भनेर भनेको उनले उल्लेख गरे ।
सोमबार साँझसम्म पनि परिवारको सम्पर्कमा नआएपछि परिवारले इलाका प्रहरी कार्यालय भानुमा खोजी गरिदिन निवेदन दिएका थिए । उनीहरूको मोबाइलको अन्तिम लोकेसन पोखरा देखिएको छ ।
दुई बालिका भेटिए
भानु नगरपालिका-४ राना गाउँबाट गत मंगलबार सम्पर्कविहीन भएका दुई बालिका भेटिएका छन् । १२ वर्षीया मन्सु घर्ती र उनकी सानी बहिनी तीन वर्षीया कञ्चन घर्ती राति भेटिएका हुन् । काँक्रो चोरेको निहुँमा घरमा आमाले गाली गरेपछि त्यही रिसमा विद्यालय नगई दिनभर गाउँतिर लुकेको र राति अबेरसम्म खोज्दै गर्दा राति १२ बजे गाउँमै लुकेर बसेको अवस्थामा भेटिएको प्रहरीले जनाएको छ ।







