काठमाडौँ । गाउँपालिका राष्ट्रिय महासंघले उच्च शिक्षाका लागि तयार भएका विद्यार्थीलाई स्वदेशमा नै अध्ययनको अवसर सिर्जना गर्न सरकारसँग अनुरोध गरेको छ ।
महासंघले आज विज्ञप्ति निकालेर कक्षा १२ तथा माध्यमिक शिक्षा परीक्षा (एसइई) को नतिजामा सुधार भएकोमा उत्साहित भएको जनाएको छ । महासंघकी अध्यक्ष लक्ष्मीदेवी पाण्डेले निकालेको विज्ञप्तिमा उच्च शिक्षाका लागि तयार भएका विद्यार्थीलाई स्वदेशमा नै गुणस्तरीय र चाहेका विषयमा अध्ययन गर्ने अवसर सिर्जना गर्न सरकारसँग अनुरोध गरिएको छ ।
राष्ट्रिय परीक्षा बोर्डले हिजो प्रकाशित गरेको कक्षा १२ को नतिजा अनुसार यो वर्ष ६१ दशमलव १७ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् । यो नतिजा गएको वर्षको तुलनामा ९ दशमलव ०२ प्रतिशतले सुधार भएको छ । त्यस्तै यस वर्ष एसइईको नतिजामा पनि सुधार भएको थियो ।
कक्षा १२ को नतिजा सार्वजनिक भएलगत्तै हिजो प्रधानमन्त्री केपी शर्मा ओलीले पनि उत्तीर्ण विद्यार्थीलाई बधाई दिँदै नेपालमै पढ्न आग्रह गर्नुभएको थियो ।
महासंघले विद्यालय शिक्षाको प्रभावकारिता बढाउन स्थानीय सरकारमा वित्तीय हस्तान्तरणको आकार बढाउन र विद्यालय शिक्षासम्बन्धी संघीय कानून छिटो जारी गर्न नेपाल सरकार र संघीय संसद्को गम्भीर ध्यानाकर्षण पनि गराएको छ ।








