काठमाडौँ । पूर्वाञ्चल विश्वविद्यालयले रिक्त तीन वटा संकायमा डिनको नियुक्त आज गरिएको छ ।
कला, शिक्षा, कानुन संकायको डिनमा जनसङ्ख्या विकास केन्द्रका सहप्राध्यापक डा. कोमलप्रसाद दुलाल नियुक्त भएका हुन् ।
त्यसैगरी, विज्ञान तथा प्रविधि संकायको डिनमा प्राडा पवनकुमार झा र इञ्जिनियरिङ संकायको डिनमा प्राडा भोलानाथ शर्मा घिमिरे नियुक्त भएका छन् ।
नवनियुक्त तीनै जना डिनले आज पदभार ग्रहण गरेका छन् । झा पूर्वाञ्चल विश्वविद्यालयको आंगीक क्याम्पस कलेज अफ साइन्स एन्ड टेक्नोलोजीमा कार्यरत प्राध्यापक छन् ।
यस्तै घिमिरे त्रिभुवन विश्वविद्यालयको आंगीक क्याम्पस पुल्चोक इञ्जिनियरिङ क्याम्पसमा कार्यरत प्राध्यापक छन् ।
उपकुलपति प्रा. डा. बिजुकुमार थपलिया र रजिष्ट्रार प्रा. डा. कल्याणी मिश्र त्रिपाठीले नवनियुक्त डिनहरूको कार्यकाल सफलताको कामना गर्दै उनीहरूको कार्यकालमा विश्वविद्यालयले नयाँ उचाइ प्राप्त गर्ने विश्वास व्यक्त गरे ।
नवनियुक्त डिन डा. दुलालले आफ्नो २२ वर्षको प्राज्ञिक अनुभवलाई विश्वविद्यालयको शैक्षिक उन्नयन र गरिमा बढाउन प्रयोग गर्ने प्रतिबद्धता जनाए । डिनद्वय झा र घिमिरेले विश्वविद्यालयको शैक्षिक विकासमा कुनै कसर बाँकी नराख्ने प्रतिबद्धता जनाए ।







