काठमाडौँ । मलेसियामा वैदेशिक रोजगारीका लागि कलिङ भिसा निकालिएको भन्ने सूचना भ्रामक रहेको मलेसियास्थित नेपाली दूतावासले प्रस्ट पारेको छ ।
दूतावासले सोमबार सूचना जारी गर्दै नेपाली राजदूतावासबाट मागपत्र प्रमाणीकरण नभइकन अवैधानिक मार्गबाट नेपाली श्रमिकहरूलाई मलेसियामा पठाउनका लागि मलेसियामा रहेका कुनै पनि कम्पनीहरूको प्रलोभनमा नपर्न नेपालका म्यानपावर व्यवसायीहरूलाई सचेत गराएको छ ।
साथै वैदेशिक रोजगारीमा मलेसिया आउन चाहने नेपाली श्रमिकहरूलाई समेत आधिकारिक रूपमा राजदूतावासबाट कम्पनीको मांगपत्र प्रमाणीकरण भए नभएको तथा म्यानपावर कम्पनीबाट वैदेशिक रोजगारीमा पठाउनु पूर्व पूरा गर्नुपर्ने सम्पूर्ण भर्ना प्रक्रिया पूरा गरे नगरेको विषयमा जानकारी राख्नुहुन र कोही कसैको प्रलोभनमा नपर्न समेत आग्रह गरेको छ ।
विज्ञप्तिमा भनिएको छ, ‘ पछिल्लो समय विभिन्न सञ्चार माध्यममा मलेसियामा रहेका केही सेक्युरिटी कम्पनीबाट नेपालका केही म्यानपावर व्यवसायीहरूमार्फत अवैधानिक रूपमा नेपाली कामदार ल्याउनका लागि माथि उल्लेखित प्रक्रिया पूरा नगरी कलिङ्ग भिसा निकालिसकेको भन्ने समाचार प्रति नेपाली राजदूतावास मलेसियाको ध्यानाकर्षण भएको छ।’
पछिल्लो समय विभिन्न सञ्चार माध्यममा मलेसियामा रहेका केही सेक्युरिटी कम्पनीबाट नेपालका केही म्यानपावर व्यवसायीहरू मार्फत अवैध रूपमा नेपाली कामदार ल्याउने प्रक्रिया सुरु भएको समाचारप्रति दूतावासले ध्यानाकर्षण गरेको छ ।
वैदेशिक रोजगारीलाई सुरक्षित व्यवस्थित तथा मर्यादित बनाउनका लागि गन्तव्य मुलुकको नेपाली कूटनीतिक नियोगबाट सम्बन्धित देशको कुनै कम्पनीमा नेपाली कामदार ल्याउन मागपत्र प्रमाणीकरण गर्नुपर्ने र वैदेशिक रोजगार ऐन तथा नियमावली बमोजिम नेपाली कूटनीतिक नियोगबाट प्रमाणित मागपत्र र सम्बन्धित देशको कम्पनीले प्रदान गरेको अख्तियारीका आधारमा वैदेशिक रोजगार विभागबाट पूर्व स्वीकृति लिनुपर्ने हुन्छ ।
त्यसपश्चात मात्र कामदारको भिसा प्रक्रिया शुरु हुन्छ। छनौट भएका कामदारको मेडिकल चेकजाँच, बीमा, कल्याणकारी कोष तथा सामाजिक सुरक्षा कोषमा रकम जम्मा गरिसकेपछि श्रम स्वीकृति जारी हुन्छ र यी सबै प्रक्रिया पूरा गरिसकेपश्चात् मात्र वैदेशिक रोजगारीमा जान पाइन्छ।








