गोरखा । एक वर्षमा जिल्लाभित्रका करिब ७० किलोमिटर सडक कालोपत्र गरिएको छ । आर्थिक वर्ष २०८१/८२ मा जिल्लाभर ६९.७ किलोमिटर कालोपत्र गरिएको हो । सबैभन्दा धेरै गोरखा सडक योजना कार्यालयले कालोपत्र गरेको छ ।
सो कार्यालयले जिल्लाका ३३.६ किलोमिटर सडक यस वर्ष कालोपत्र गरेको हो । सडक कालो पत्रसहित नाला निर्माण, ढलान, वाल निर्माण गरेको कार्यालयका सूचना अधिकारी आशिक रिजालले जानकारी दिए । “सडक ग्राभेल गर्ने, नाला बनाउने र कालोपत्र गर्ने क्रम अझै चलिरहेको छ । काम गर्दै जाँदा कुनै वर्ष कालोपत्र बढी हुन्छ, कुनै बेला कम । तर, काम भने भइरहेको छ”, उनले भने ।
जिल्लामा सडक योजना कार्यालयपछि सबैभन्दा धेरै किलोमिटर सडक पूर्वाधार विकास कार्यालय हो । सो कार्यालयले यस वर्ष जिल्लाभर २१.७ किलोमिटर सडक कालोपत्र गरेको सूचना अधिकारी शर्मिला थापाले जानकारी दिइन् ।
मध्यपहाडी लोक मार्गको गोरखा खण्डमा यस वर्ष छ किलोमिटर सडक कालोपत्र भएको इञ्जिनियर गोविन्द श्रेष्ठले बताए । स्थानीय पूर्वाधार विकास आयोजना कार्यालय, पोखराले यहाँको पालुङ्टार नगरपालिकामा सडक कालोपत्र गरेको छ । सो कार्यालयका इञ्जिनियर सरोज आचार्यका अनुसार पालुङ्टारमा २.५ किलोमिटर सडक कालोपत्र गरेको हो ।
गत आर्थिक वर्ष २०८१/८२ मा सहिदलखन गाउँपालिकाले ३.५ किलोमिटर सडक कालोपत्र गरेको छ । पालिकाको रु. १० करोड बजेटमा नामजुंग घैरुङ सडक कालोपत्र गरेको गाउँपालिकाका इञ्जिनियर राजन रानाभाटले जानकारी दिए ।







