सुनसरी । पूर्वी पृतना मुख्यालय, इटहरीमा आयोजित ‘पृतनापति ट्रफी, २०८२’ कूल ८४ पदकसहित श्री नं १८ बाहिनी अड्डा पहिलो भएको छ । श्री नं १८ ले ३२ स्वर्ण, २२ रजत र ३० कास्य पदक प्राप्त गरी पहिलो भएको हो ।
भलिबल, फुटबल, बास्केटबल, तेक्वान्दो, बक्सिङ, पौडी, जुडो र एथ्लेटिक्स गरी आठ खेल सम्मिलित प्रतियोगितामा श्री नं. २१ बाहिनी अड्डा दोस्रो र श्री नं. २ बाहिनी अड्डा तेस्रो भएका छन् ।
आज सम्पन्न प्रतियोगितामा पूर्वी पृतना हेडक्वाटरका पृतनापति उपरथी गौरवकुमार केसीले विजेता खेलाडीलाई ट्रफी तथा प्रमाणपत्र वितरण गरे । ‘स्वास्थ्य, मित्रता एवं राष्ट्रका लागि खेलकुद’ भन्ने नाराका साथ आयोजित प्रतियोगिताको उद्देश्य शारीरिक क्षमता अभिवृद्धि गर्दै अनुशासित तथा सक्षम सुरक्षाकर्मी उत्पादन गरेको उपरथी केसीले बताए ।
कार्यक्रममा २, १८ र २१ नं. बाहिनी अड्डाका बाहिनी पति, गणपति, गुल्मपति तथा अन्य उच्च सैनिक अधिकृतसहित कोशी प्रदेश खेलकुद विकास बोर्डका सदस्य सचिव पर्शुराम बस्नेत, सहायक रथी मणिकुमार श्रेष्ठ, महासेनानी मदनजंग राणा, सहायक रथी गौरव गुरुङ लगायतको उपस्थिति रहेको थियो ।
प्रतियोगितामा खेलाडी, रेफ्री, अफिसियल र व्यवस्थापकसहित ४८६ जनाको सहभागिता रहेको पूर्वी पृतना मुख्यालयले जानकारी दिएको छ ।







