काठमाडौँ । कोशी प्रदेश सभामुख अम्बरबहादुर विष्टले नेपालमा राजनीतिक दलका नेता नै भ्रष्टाचारमा जोडिँदा लोकतन्त्रको बद्नाम भएको बताएका छन् ।
आज यहाँ आयोजित उदयपुर उद्योग वाणिज्य संघको तेस्रो जिल्ला अधिवेशन उद्घाटन कार्यक्रममा उनले संघीय लोकतान्त्रिक गणतन्त्रको संस्थागत विकास गर्नुपर्ने बेला तलदेखि माथिसम्म राजनीतिक दल र नेता भ्रष्टाचारमा जोडिनु दु:खद् भएको बताए ।
‘यो लोकतन्त्रको सबैभन्दा दु:खद् पक्ष हो । देशमा कामभन्दा बढी भाषण र आफ्नो स्वार्थपूर्तिमा मात्र ध्यान दिँदा संघीय लोकतान्त्रिक गणतन्त्रको बद्नाम भइरहेको छ’, सभामुख विष्टले भने, ‘देशले अब धेरै कुरामा परनिर्भर हुँदै गएको छ । उत्पादन र रोजगारीका लागि पर्याप्त ध्यान गएको छैन । अत्यावश्यक उपभोग्य वस्तु पनि आयात गर्नुपर्ने अवस्था छ । यसले जनआक्रोश बढाउन भूमिका खेलेको छ । अब सचेत हुन आवश्यक छ ।’
देशलाई समृद्ध बनाउन उत्पादन बढाउने र भ्रष्टाचार नियन्त्रण गर्ने दुई वटामात्र विकल्प रहेको उनको धारणा थियो ।







