गाईघाट। नेपाली सेनाको आयोजनामा उदयपुरको बेलकामा सञ्चालन गरिएको एक दिवसीय स्वास्थ्य शिविरमा विभिन्न रोगका गरी चारसयभन्दा बढी स्थानीय लाभान्वित भएका छन् ।
बेलका नगरपालिका-२ बानडाडाँमा बिहीबार सञ्चालित स्वास्थ्य शिविरमा चार सय २२ जना स्थानीयले प्रत्यक्ष स्वास्थ्य सेवाबाट लाभान्वित भएका हुन् ।
गाइघाटस्थित नेपाली सेनाको पशुपतिप्रसाद गण पिपलटार व्यारेक बोक्सेको आयोजनामा सम्पन्न शिविरमा स्थानीय बासिन्दाहरूलाई विशेषज्ञ सेवा प्रदान गर्नुको साथै विभिन्न किसिमको नि:शुल्क स्वास्थ्य सेवा प्रदान गरिएको छ ।
शिविरमा आँखा, रेडियोलोजी तथा सामान्य चिकित्सासम्बन्धी सेवा प्रदान गरिएको सो ब्यारेकका गणपति प्रमुख सेनानी शिवप्रसाद वाग्लेले बताए ।
शिविरमा नेपाल नेत्र ज्योति संघको प्राविधिक सहयोगमा सञ्चालित आँखासम्बन्धी रोगमा पुरुष ७२ र महिला ८१ जना गरी एक सय ५३ जनालाई स्वास्थ्य सेवा प्रदान गरिएको छ । जसमा ३८ लाई अन्यत्र रेफर गरिएको छ ।
यसैगरी, गाईघाटस्थित दिपेश हेल्थ केयर गाईघाटको प्राविधिक सहयोगमा रेडियोलोजी सेवा सञ्चालन गरिएकोमा ५० जनाले स्वास्थ्य परीक्षणको सेवा लिएका छन् ।
प्रमुख सेनानी वाग्लेका अनुसार यसबाहेक नेपाली सेनाको चिकित्सकहरूले गरेको जेनेरल स्वास्थ्य परीक्षणमा पुरुष ९९ र महिला एक सय २० गरी थप दुई सय १९ स्थानीय जनतालाई नि:शुल्क स्वास्थ्य सेवा उपलब्ध गराइएको छ ।
उक्त स्वास्थ्य शिविरमा श्री नं. १८ फिए गुल्मका प्राविधिक सह–सेनानी डा. शंकरदयाल शाहको नेतृत्वमा चिकित्सकको टोलीले सेवा प्रदान गरेको हो ।
नेपाली सेना श्री नम्बर १८ वाहिनी अड्डाका वाहिनी पति सहायक रथी गौरव गुरुङ, पशुपतिप्रसाद गणका गणपति प्रमुख सेनानी शिवप्रसाद वाग्ले, बेलका नगरप्रमुख अशोक कार्की शिविरको उद्घाटनका अवसरमा सहभागी भएका थिए।
शिविरले स्थानीय समुदायमा स्वास्थ्य सेवाको पहुँच वृद्धि गर्नुका साथै नेपाली सेनाको नागरिक-सैनिक सम्बन्धलाई थप प्रगाढ बनाउन महत्त्वपूर्ण भूमिका खेलेको नेपाली सेनाले जनाएको छ ।







