काठमाडौँ । नेपाली काँग्रेसका नेता डा. शेखर कोइरालाले निजामती विधेयकमा छेडखानी गर्नु अपराध भएको बताएका छन् ।
काठमाडौँमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले विधेयकमा कुलिङ पिरियड हटाउने कुरा जसले गरेको भए पनि क्षम्य नहुने बताए ।
उनले थपे, ‘संसदीय समितिबाट एउटा कुरा पास हुन्छ, पास भइसकेपछि त्यसलाई तोडेर अगाडि लाने ? जसले गरेको भए पनि त्यो क्षम्य हुन सक्दैन । हामी सांसदहरूको पनि कमीकमजोरी छ, हामीले पनि पढ्नुपर्थ्यो । पढ्ने बानी त हाम्रो पनि छैन । पहिल्यै थियो कि लास्टमा बाँड्ने क्रममा थपिएको हो कि ?’
नेता कोइरालाले देशको राजनीतिक, सांस्कृतिक, धार्मिक, आर्थिक अवस्था ठिक नभएको बताए ।
उनले थपे, ‘राजनीतिज्ञहरू नै अहिले ठिक छैनन्, मेरो मान्छे हो भने त्यसलाई कारबाही हुँदैन, तर तपाईँहरूको मान्छे त्यही कारणले फसेको छ भने कारबाही हुन्छ । दण्डहीनता बढ्दो छ । भ्रष्टाचारको सीमा नाघिसक्यो ।’
नेता कोइरालाले बागमती, मधेश र गण्डकी प्रदेश सरकारले ल्याएको बजेटको पनि चर्को आलोचना गरेका छन् ।







