काठमाडौँ । आन्तरिक राजस्व कार्यालय नयाँ वानेश्वरको आयोजना र महान्यायाधिवक्ताको कार्यालय नेपालको समन्वयमा राजस्व प्रशासनमा कानूनी कार्यविधि सम्बन्धी एकदिने प्रशिक्षण कार्यक्रम शुक्रबार कार्यालयको सभाहलमा सम्पन्न भएको छ।
कार्यक्रममा सह-न्यायाधिवक्ता हरिशंकर ज्ञवालीले कर निर्धारणमा पालना गर्नुपर्ने कार्यविधिगत विषयमा प्रशिक्षण दिए । उनले हदम्याद, क्षेत्राधिकार, मुचुल्का, बयानलगायत अनुसन्धान, तहकिकात र निर्णय प्रक्रियामा ध्यान दिनुपर्ने कानूनी पक्षमा जोड दिए। यस्तै, नायब महान्यायाधिवक्ता गोपाल प्रसाद रिजालले कर विवादमा वस्तुनिष्ठ प्रतिरक्षा र निकायगत समन्वयको आवश्यकता औंल्याउँदै स्वच्छ सुनुवाइ र फैसला कार्यान्वयनमा प्राथमिकता दिनुपर्ने बताए ।

कार्यक्रममा सहभागी कर्मचारीहरूले राजस्व प्रशासनमा कानूनी कार्यविधिका द्विविधासम्बन्धी जिज्ञासा राखेका थिए, जसलाई प्रशिक्षकहरूले स्पष्ट पारेका थिए। आन्तरिक राजस्व विभागकी उपन्यायाधिवक्ता सविता शर्मा र प्रमुख कर अधिकृत गोविन्दराज आचार्यको उपस्थिति रहेको उक्त कार्यक्रममा आचार्यले कर कार्यालय जस्ता अर्धन्यायिक निकायमा यस्ता प्रशिक्षण अत्यन्त सान्दर्भिक रहेको बताए ।
प्रमुख आचार्यले आन्तरिक राजस्व विभागको नयाँ स्वीकृत संरचना अनुसार कार्यालयहरूमा छुट्टै अनुसन्धान शाखा स्थापना हुने र आगामी दिनमा अनुसन्धान कार्यमा कानूनी कार्यविधिको ज्ञान थप उपयोगी हुने उल्लेख गरे । कार्यक्रमको सञ्चालन कर अधिकृत बेद प्रसाद खनालले गरेका थिए ।







