काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले आँखा स्वास्थ्य सेवाका क्षेत्रमा नेपालले प्रगति गरेको बताएका छन् ।
विश्वभरिका आँखा स्वास्थ्य क्षेत्रमा काम गर्ने विभिन्न संघ संस्थाको छाता सङ्गठन इन्टनेसनल एजेन्सी फर ‘द प्रिभेन्सन अफ ब्लाइन्डनेस ’ (आइएपिबी)द्वारा नेपालमा पहिलो पटक आयोजित सो ‘ इन साइट अफ लाइभ २०३०’ नामक अन्तर्राष्ट्रिय सम्मेलनलाई आज यहाँ सम्बोधन गर्दै उनले विश्वव्यापी आँखा स्वास्थ्य सेवाको लक्ष्य प्राप्त गर्न तर्फ काम गरिरहेको बताए।
मन्त्री पौडेलले आँखा नेपालमा आँखा उपचार नवीन उपचार पद्धति रहेको समेत बताए । उनले सहरीकरण, बुढ्यौली र जीवनशैली परिवर्तनले आँखा स्वास्थ्य सेवाको माग बढाइरहेको बताए । उनले दक्षिण–पूर्वी एसियामा अन्धोपन अझै पनि उच्च रहेको जनाउँदै सम्मेलनले आँखा स्वास्थ्य क्षेत्रमा उल्लेखनीय प्रगति गर्नुपर्ने आवश्यकता औँल्याए। मन्त्री पौडेलले भने,“ आँखा सेवा पहुँच सुनिश्चित गर्न स्वास्थ्य मन्त्रालयले उच्च प्राथमिकता दिएको छ । ”
उनले नेपालले आँखा उपचारलाई अझ सुधार गर्नका लागि राष्ट्रिय स्वास्थ्य प्रणालीमा एकीकृत गर्ने तथा विद्यालय, कार्यस्थल र समुदायमा बलियो साझेदारी निर्माण गर्ने जानकारी दिए। नेपाल नेत्रज्योति संघका अध्यक्ष प्राडा चेतराज पन्तले समुदायस्तरमा गुणस्तरीय आँखा स्वास्थ्यको पहुँच पुर्याउन संघले अनवरत प्रयास गरिरहेको जानकारी दिए ।
सम्मेलनमा विश्वभरका अन्धोपन निवारण तथा आँखा स्वास्थ्य क्षेत्रमा कार्यरत आइएपिबीका सदस्य संस्थाका प्रतिनिधि सहभागिता रहेको छ । आँखा स्वास्थ्य क्षेत्रमा काम गर्ने अन्तर्राष्ट्रिय परोपकारी संस्था, आँखा अस्पताल, शैक्षिक संस्थान, व्यावसायिक संघ र कर्पोरेट संस्था मुख्यतया आइएपिबिका सदस्य रहन्छन् । नेपाल नेत्रज्योति संघ, नेपाल आँखा अस्पताल, तिलगंगा आँखा प्रतिष्ठान र बिपी आई फाउण्डेशन आइएपिबीका सदस्य छन् ।
विश्वभरिका आँखा स्वास्थ्य क्षेत्रमा काम गर्ने विभिन्न संघ संस्थाको छाता संगठनका रुपमा रहेको आईएपिबीले अन्तरारष्ट्रियरुपमा आँखा स्वास्थ्यको क्षेत्रमा वकालत गर्दै आइरहेको छ । आँखा स्वास्थ्य क्षेत्रमा विश्वव्यापी रुपमा सहकार्यलाई प्रवर्द्धन गर्ने, नेतृत्वलाई प्रेरित गर्ने र वकालतलाई सशक्त बनाउने हेतुले हरेक वर्ष विभिन्न देशमा विभिन्न अन्तर्राष्ट्रिय सम्मेलनको आयोजना गर्ने गर्दछ ।
सन् २०२४ को आइएपिबी सम्मेलन मेक्सिकोमा आयोजना गरिएको थियो । आईएपिबीको दक्षिण पूर्वी एसियाका प्रमुख युद्धध्वज सापकोटाका अनुसार सम्मेलनमा करिब १०० राष्ट्रका ५०० जनाले सहभागिता रहेको जनाइएको छ । सम्मेलनमा सहभागी देशका बीचमा आँखा उपचार सेवाका अनुभव , चुनौतीका विषयमा अनुभव आदान प्रदान एवम् आँखा रोग विशेषज्ञद्वारा विशेष विशेष प्रवचन समेत दिने छन् ।
नेपाल नेत्रज्योति संघका कार्यकारी निर्देशक डा शैलेशकुमार मिश्रका अनुसार उक्त सम्मेलनमा विशेषगरी सन् २०३० सम्ममा विश्वमा आँखा स्वास्थ्यका क्षेत्रका लागि आवश्यक रणनीति तथा योजनाका विषयमा छलफल हुनेछ ।
संघका महासचिव भरतबहादुर चन्दले सम्मेलनले नेपालको आँखा उपचार सेवालाई विश्वव्यापीकरण गर्नुका साथै देशको पर्यटन विकासमा समेत महत्त्वपूर्ण टेवा पुर्याउने बताए। उनले भने, “‘इन साइट अफ लाइभ २०३०’ नेपालमा आयोजना हुनु हामी सबैका लागि गर्वको विषय हो, यसले हाम्रो देशको आँखा उपचार सेवालाई विश्व समुदायसम्म पुर्याउन मद्दत गर्नुका साथै नेपालको पर्यटन विकासमा समेत महत्त्वपूर्ण हुनेछ । ” संघअन्तर्गत हाल देशभरमा २८ आँखा अस्पताल, एक सय ६० आँखा उपचार केन्द्र तथा ४५ जिल्ला शाखा सञ्चालनमा छन् । स्थापनादेखि हालसम्म संघले नेपाली नागरिक तथा अन्य देशका गरी कूल चार करोड ३६ लाख २६ जना आँखाका बिरामीलाई उपचार गरिसकेको छ । एकाउन्न लाख ३३ हजार ६५९ जनाको आँखाको शल्यक्रिया गरिसकेको छ ।