काठमाडौँ । मुलुकमा राजस्व सङ्कलनको चुनौतीबीच राजस्व अनुसन्धान कार्यालय पथलैया, बाराले कर छली विरुद्ध आक्रामक र प्रभावकारी कदम चालेको छ । कार्यालयले आर्थिक वर्ष २०८०/८१ र २०८१/८२ को पहिलो नौ महिनाको तुलनात्मक विवरण अनुसार उल्लेख्य प्रगति हासिल गरेको छ ।
प्रशासन सिंहदरबार विशेष ब्युरोलाई प्राप्त विवरणअनुसार, आर्थिक वर्ष २०८०/८१ मा राजस्व चुहावटसम्बन्धी मुद्दा दर्ता संख्या २ रहेकोमा २०८१/८२ मा यो संख्या बढेर १२ पुगेको छ, जुन ५०० प्रतिशतले वृद्धि हो । १२ वटा मुद्दामा कार्यालयले ७६ जनालाई प्रतिवादी बनाएको छ जसमा ४ जना भन्सार कार्यालयमा कार्यरत कर्मचारीहरू समेत रहेका छन् । त्यस्तै, राजस्व चुहावट मुद्दा माग दाबी रकम गत वर्षको सोही अवधिमा रु. २ करोड ४२ हजार २२६ रहेकोमा यस वर्ष रु. ७६ करोड ११ लाख ४ हजार ३४८ पुगेको छ, जुन ३६९८ प्रतिशतले बढी हो ।
यसैगरी, राजस्व चुहावट धरौटी दाखिला रकममा ७०.१४ प्रतिशतले वृद्धि भएको छ । गत वर्ष रु. २ करोड ९४ लाख ७३ हजार ८५० रहेको यो रकम यस वर्ष रु. ५ करोड १ लाख ४७ हजार १७९ पुगेको छ । भिसिटिएस जरिवाना दाखिला रकममा पनि ४.९३ प्रतिशतले वृद्धि भई रु. ७४ लाख ६५ हजारबाट रु. ७८ लाख ३३ हजार पुगेको छ । तर, विदेशी विनिमय मुद्दा दर्ता संख्या भने दुवै वर्ष ९ वटा कायमै रहेको छ ।
यो तथ्याङ्कले राजस्व अनुसन्धान कार्यालय पथलैया, बाराले कार्यसम्पादनका हिसाबले उल्लेख्य प्रगति गरेको देखिन्छ । कार्यालयका प्रमुख अनुसन्धान अधिकृत हरि प्रसाद शर्माले कर छली नियन्त्रण र राजस्व सङ्कलनलाई प्रभावकारी बनाउन कुनै कसर बाँकी नराखिएको बताए । उनले आगामी दिनमा अझ कडा र शक्तिशाली कदम चालिने प्रतिबद्धता समेत व्यक्त गरे ।
यद्यपि, कार्यालयले जनशक्तिको अभावबीच पनि उल्लेखनीय कार्यसम्पादन गरेको छ । विगतमा कर्मचारीको ओइरो लाग्ने गरेको उक्त कार्यालयमा अहिले दरबन्दी अनुसारको जनशक्ति पदपूर्ति हुन नसकेको अवस्था भएता पनि सीमित जनशक्तिबाटै प्रभावकारी नतिजा निकाल्न सफल भएको छ ।
सुशासनको संकेत, आशाको किरण
राजस्व अनुसन्धान कार्यालय पथलैयाको यो प्रगतिले मुलुकमा सुशासन र पारदर्शिताको बलियो आधार खडा गरेको छ । सीमित स्रोत र साधनका बाबजुद पनि कर छली विरुद्धको यो लडाइँले राज्यको ढुकुटी सुदृढ बनाउन र विकासका योजनाहरूलाई गति दिन ठूलो योगदान पुर्याउने अपेक्षा गरिएको छ ।
अब हरेक नागरिक र सरोकारवालाले यस्ता प्रयासमा साथ दिँदै इमानदारी र जबाफदेहिताको संस्कृति निर्माणमा हातेमालो गरे अवश्य पनि मुलुकको आर्थिक अवस्था क्रमशः सुधार हुँदै जानेमा दुई मत देखिँदैन ।
पथलैयाकै पथ देशभरका अन्य कार्यालयहरू तथा सरोकारवालाहरूले पछ्याउन सके ‘छल’ माथिको ‘छली’ नियन्त्रण हुन गई राजश्व वृद्धिमा छलाङ मार्न सकिन्छ ।