काठमाडौँ । सञ्चालनमा रहेका ग वर्गका १५ वटै वित्तीय संस्थाहरूले चालु आर्थिक वर्षको तेस्रो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेका छन् ।
सार्वजनिक वित्तीय विवरणअनुसार चालु आर्थिक वर्ष चैत मसान्तसम्म पाँच वटा फाइनान्स कम्पनी नोक्सानीमा छन् भने बाँकी १० वटा नाफामा छन् । गत वर्ष सोही अवधिमा ८ वटा फाइनान्स कम्पनी नोक्सानीमा थिए ।
समग्रमा फाइनान्स कम्पनीहरूको नाफा रकम पनि बढेको छ । १५ वटा फाइनान्स कम्पनीको खुद नाफा १७ करोड ५८ लाख रुपैयाँ छ । गत वर्षको तेस्रो त्रैमासमा ३७ करोड ऋणात्मक थियो ।
पहिले नोक्सानमा रहेका प्रोग्रेसिभ, पोखरा, गुहेश्वरी, सेन्ट्रल र गुडविल फाइनान्स अहिले नाफामा गएका छन् । पहिले नाफामा रहेका बेस्ट र गोर्खाज फाइनान्स अहिले नोक्सानमा गएका छन् ।
साउनदेखि चैत मसान्तसम्म फाइनान्स कम्पनीमध्ये आईसीएफसीले सबैभन्दा धेरै १९ करोड ५० लाख रुपैयाँ खुद नाफा कमाएको छ । सो कम्पनीको वार्षिक प्रतिसेयर आम्दानी पनि सबैभन्दा धेरै २१ रुपैयाँ ९८ पैसा छ ।
जानाकी फाइनान्स सबैभन्दा धेरै १७ करोड ४७ लाख रुपैयाँ नोक्सानीमा छ । सो कम्पनीको वार्षिक प्रतिसेयर आम्दानी २०.७७ रुपैयाँ ऋणात्मक छ । निष्क्रिय कर्जा पनि सो कम्पनीको भारी मात्रामा बढेको छ ।
