काठमाडौँ । श्रद्धा, भक्ति एवं धार्मिक सहिष्णुताको मनाइँदै आएको चैती छठको जनकपुरधाममा रौनक छाएको छ । जनकपुरधामस्थित गंगासागर पोखरीमा व्रतालुहरू श्रद्धापूर्वक छठ मनाइँदै छ ।
चैती छठको मुख्य दिन आज व्रतालुहरूले अस्ताउँदो सूर्यलाई अर्घ्य चढाएका छन् । कार्तिकमा मनाइने छठ जस्तै विधि चैती छठमा पनि गरिन्छ । आजको रात घाटमै बिताएर भोली बिहान उदाउँदो सूर्यको अर्घ्य चढाएर छठ विधिवत् समापन गरिनेछ ।
छठ पर्वको प्रसादका रूपमा केरा, सुन्तला, नरिवल, अदुवा, गहुँको पिठोले बनाइएको ठेकुवा, उखु लगायतका प्रसाद बासले बनेको छिटा, दौरा, सुप तथा माटोले बनेको हात्ती, ढकना, दियो र कलशलगायत पूजा सामग्रीको प्रयोग गरिन्छ । जसलाई शुद्धताको प्रतीकको रूपमा लिइन्छ ।
छठ पर्व गर्दा घरमा सुख शान्ति हुने तथा चर्मरोग निको हुने धार्मिक विश्वास छ । कार्तिकमा लगभग मधेसका शतप्रतिशतले छठ मनाउँछन् । त्यसको तुलनामा चैती छठ थोरेले मनाउँछन् । यद्पी पछिल्लो समय चैती छठ मनाउनेको संख्या पनि बढेको देखिन्छ ।