काठमाडौँ । यही मार्च ८ देखि युगाण्डामा सुरु हुने चार देशीय महिला टी-२०आई शृंखला खेल्न जाने नेपाली क्रिकेट टोलीको बिदाइ गरिएको छ । नेपाल क्रिकेट संघ क्यानले बुधबार मुलपानीस्थित क्यानको कार्यालयमा एक कार्यक्रमको आयोजना गरी टोलीको बिदाइ गरेको हो ।
शृंखलामा नेपाल, युगाण्डा, हङकङ र नामिबियाको सहभागिता । नेपालले नामिबियासँग महिला क्रिकेटमा पहिलो पटक खेल्न लागेको हो ।
बिदाइ कार्यक्रममा बोल्दै टिमकी कप्तान इन्दु बर्माले युगाण्डामा गएर राम्रो क्रिकेट खेलेर फर्कने बताइन् ।
त्यसैगरी प्रशिक्षक मनोज कटुवालले पनि कमजोरीहरू सुधार गरी सिरिज जितेर फर्कने बताए ।
त्यसैगरी क्यानका सचिव पारस खड्काले नयाँ ठाउँमा गएर खेलेर नयाँ अनुभव बटुल्न मद्दत पुग्ने बताए । टिमलाई शुभकामना दिँदै उनले भने, ‘जित र हारको मुल्यांकन भइरहेकै हुन्छ, हामी तपाईहरूमा विश्वास गर्छौँ, राम्रो क्रिकेट खेलेर फर्कनु हुनेछ भन्ने आशा सहित शुभकामना।’
नेपालले मार्च ८ (फागुन २४)मा नामिबियासँग खेल्नेछ भने, फागुन २५ मा युगाण्डासँग, फागुन २६ मा हङकङसँग खेल्ने छ । त्यस्तै फागुन २८ मा नामिबियासँग, २९ मा युगाण्डासँग र ३० मा हङकङसँग खेल्ने छ ।
यी सबै खेलहरू सकिएपछि शीर्ष २ मा हुने टोलीले फाइनल खेल्ने छन् ।
नेपालको टोलीमा इन्दु बर्मा (कप्तान), रुबिना क्षेत्री, पूजा महतो, अलिशा कुमारी यादव, बिन्दु रावल, सम्झना खड्का, ममता चौधरी, कविता जोशी, रिया शर्मा, सना प्रवीन, रोमा थापा, राजमती ऐरी, रचना चौधरी र ईश्वरी विष्ट छन् ।







