काठमाडौं । नेपाल सरकारका निलम्बित सचिव टेकनारायण पाण्डे अनिवार्य अवकाश भएका छन्। नक्कली भुटानी शरणार्थी प्रकरणमा संलग्न रहेको अभियोगमा पुर्पक्षका लागि थुनामा रहेका पाण्डे जेलमै रहँदा अनिवार्य अवकाशमा पुगेका हुन्। २०७६ साल फागुन १२ गते सचिवमा बढुवा भएका पाण्डे पाँच वर्षे सेवा अवधि पूरा गरेसँगै अवकाश भएका हुन्।
गृह सचिव रहेका बेला नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएपछि पाण्डे हाल केन्द्रीय कारागार सुन्धारामा थुनामा छन्।
शिक्षा सेवाका सहसचिवका रूपमा कार्यरत पाण्डे कर्णाली प्रदेशको प्रदेश प्रमुख, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय हुँदै गृह सचिव बनेका थिए। गृह मन्त्रालयपछि उपराष्ट्रपति कार्यालय पुगेका उनी गृह सचिवकै कार्यकालमा नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएपछि प्रहरी हिरासत हुँदै पुर्पक्षका लागि थुनामा पुगेका थिए। तत्कालीन गृहमन्त्री बालकृष्ण खाँण धरौटीमा रिहा भइसके पनि सचिव पाण्डे भने जेलबाटै अवकाश भएका छन्।
यससँगै एक सचिव पद रिक्त भएको छ। बढुवा समितिको आगामी बैठकले तीन वरिष्ठ सहसचिवलाई सचिव पदमा बढुवाका लागि सिफारिस गर्नेछ।







