काठमाडौँ । पूर्वप्रधानमन्त्री झलनाथ खनालले २०८४ मा बहुमत ल्याउने गरी काँग्रेसले तयारी गरिरहेको बताएका छन्।
शुक्रबार काठमाडौँमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले काँग्रेसले ०८४ को निर्वाचनका लागि राम्रो तयारी गरिरहेको बताएका हुन्। उनले कांग्रेस यही ढाँचाबाट अघि बढे बहुमत ल्याउने सम्भावना रहेको बताए।
उनले यही अवस्थाले एमाले एक्लै बहुमत ल्याउँछु भनेर हिँडे एमाले दुर्घटनामा पर्ने टिप्पणी गरे। उनले देशको निम्ति हित गरेर अघि बढ्ने हो भने नेपालका वामपन्थीहरूले पुनरावलोकन गर्नु आवश्यक रहेको बताए। देशका सबै वामपन्थी एक हुनुपर्ने बताए।
उनले भने, ‘अब ०८४ आउँदै छ। ०८४ को लागि काँग्रेसले राम्रो तयारी गरेको देख्छु मैले। राम्रो तयारीमा छ। ०८४ मा काँग्रेसले यही नै ढाँचाबाट गयो भने बहुमत ल्याउने सम्भावना देख्छु। वामपन्थीले कल्पना नगरे पनि हुन्छ। म एक्लै बहुमत ल्याउँछु भनेर अहिले एमाले हिँड्दै छ। एमालेको एउटा खुट्टा हो कि दुई वटा खुट्टा भाँचिने हो भन्न सक्ने अवस्था छैन। त्यो दुर्घटनामा पर्छ।’
उनले नेकपा (माओवादी केन्द्र) ले दक्षिणपन्थी बाटो अँगालेको बताए। नेकपा (एकीकृत समाजवादी) ले पनि सोही बाटो बिराएको उनको भनाइ थियो। काँग्रेसको पुच्छर भएर माओवादी र एकीकृत समाजवादी हिँडेको उनले बताए।







