परिचय
रोजगार सेवा केन्द्रबाट प्रवाह हुने सेवा, सूचना र जानकारीहरूको साथै केन्द्रका उद्देश्य, नीति, रणनीति, गतिविधि र कार्यक्रमहरूको बारेमा लक्षित वर्ग वा सरोकारवालाहरूसम्म समुचित रूपमा जानकारी वा सूचना प्रवाह गर्नका लागि प्रभावकारी सञ्चार सामग्री एवम् माध्यमहरूको पहिचान र प्रयोग गरी रोजगार सेवा केन्द्रबाट अधिकतम लाभ लिन सक्ने गरी सञ्चार गर्नु पर्दछ । जसले सेवा केन्द्रको लक्ष्य र उद्देश्यलाई प्राप्त गर्न सघाउँछ । सञ्चारले रोजगारीका अवसरहरू, सीप तथा क्षमता विकास कार्यक्रमहरू र रोजगारमूलक सेवाहरूलाई लक्षित वर्गसम्म पुर्याउन तथा श्रम बजार व्यवस्थापनमा सकारात्मक योगदान गर्न मद्दत पुर्याउँछ ।
रोजगार सेवा केन्द्रबाट प्रवाह गरिने सेवाहरूका बारेमा बेरोजगार व्यक्ति वा रोजगारीको खोजीमा रहेका व्यक्तिहरूलाई उचित मार्गदर्शन प्रदान गर्न, रोजगारीका अवसरहरूका बारेमा जानकारी दिन र रोजगारदाताहरूलाई दक्ष, योग्य, सक्षम, सीपयुक्त र व्यावसायिक जनशक्ति उपलब्ध गराउन सहजकर्ताको रूपमा भूमिका निर्वाह गर्ने लक्ष्यका साथ काम गर्नु पर्दछ । प्रभावकारी सञ्चारले रोजगार सेवा केन्द्रलाई व्यवस्थित रूपमा सेवा तथा सूचना प्रवाह गर्न तथा रोजगारदाता र रोजगार खोज्ने व्यक्तिहरूबिच पुलको काम गर्न मद्दत गर्छ । यसका लागि सञ्चार नियमित एवम् प्रभावकारी हुन अत्यन्तै महत्त्वपूर्ण हुन्छ ।
नेपालमा रोजगारीका पर्याप्त अवसर नहुँदा वर्षेनी ठूलो संख्यामा युवा जनशक्ति रोजगारीका लागि बिदेसिने गरेको छ । पर्याप्त सूचना, जानकारी र परामर्शको अभावमा बेरोजगार व्यक्ति वा रोजगारीको खोजीमा रहेका व्यक्तिहरू दैनिक ठाउँ ठाउँमा ठगिनु परेको अवस्था छ । रोजगार सेवा केन्द्रको नियमित सञ्चारले रोजगारी खोज्ने व्यक्तिहरू र रोजगारदाता बीच सम्बन्ध सेतु स्थापित गर्न मद्दत गर्दछ ।
रोजगार सेवा केन्द्रले सञ्चार गर्दा बेरोजगार व्यक्ति वा रोजगारीको खोजीमा रहेका व्यक्ति, वैदेशिक रोजगारीमा जाने र वैदेशिक रोजगारीबाट फर्केका व्यक्ति, सीपको खोजीमा रहेमा व्यक्ति, स्वरोजगार गर्न इच्छुक व्यक्ति, रोजगारदाता, सरोकारवाला निकाय र संघसंस्थाहरुलाई लक्षित गरी सञ्चार गर्नु पर्दछ ।
सञ्चारको कानुनी आधार
प्रधानमन्त्री रोजगार कार्यक्रम सञ्चालन निर्देशिका, २०७५ को दफा ६३ मा रणनीतिक सञ्चार अन्तर्गत सूचना सम्प्रेषण, अन्तरक्रिया, छलफल, गोष्ठी तथा सेमिनार र श्रमको सम्मान राष्ट्रको अभियान सञ्चालन गर्न सकिनेछ भन्ने उल्लेख रहेको छ । यस अन्तर्गत आम नागरिक एवं अन्य सरोकारवालालाई जानकारी गराउन रेडियो, टेलिभिजन, लघु चलचित्र, वेबसाइट तथा अन्य श्रव्य दृश्य विद्युतीय माध्यम, पत्रपत्रिका, ब्रोसर तथा बुकलेट, आयोजना वडापत्र, सामाजिक सञ्जाल आदि मार्फत सूचना, जानकारी, सन्देश तथा कार्यक्रमहरूको प्रसारण र प्रकाशन गर्न सकिनेछ ।
त्यस्तै निर्देशिकाको दफा ८० मा सूचना प्रकाशन तथा प्रसारण गर्नु पर्ने व्यवस्था रहेको छ । सङ्घीय मन्त्रालय, प्रदेशको सम्बन्धित मन्त्रालय र सम्बन्धित गाउँ कार्यपालिका वा नगर कार्यपालिकाको कार्यालयले सूचना तथा जानकारीहरू नियमित रूपमा प्रकाशन तथा प्रसारण गर्नु पर्नेछ । यस अन्तर्गत नियमित पत्रकार भेटघाट, प्रेस विज्ञप्ति, छापा तथा विद्युतीय माध्यम तथा सामाजिक सञ्जाल मार्फत सूचना तथा जानकारी प्रकाशन एवं प्रसारण, वुकलेट, बुलेटिन तथा ब्रोसर प्रकाशन र बारम्बार सोधिने प्रश्नहरू (एफ.ए.क्यु) को प्रकाशन लगायतका विधिहरूको अवलम्बन गर्न सकिने प्रावधान रहेको छ ।
युवा रोजगारीका लागि रूपान्तरण पहल परियोजना (सञ्चालन तथा व्यवस्थापन) कार्यविधि, २०८१ को दफा ६६ मा समेत सूचना तथा सञ्चारका अभियान सञ्चालन गर्नु पर्ने व्यवस्था रहेको छ । त्यस्तै कार्यविधिको दफा ६७ मा नागरिक सचेतना तथा पहुँच अभियान सञ्चालन गर्नु पर्ने प्रावधान रहेको छ । लक्षित वर्गको पहुँच बढाउन स्थानीय स्तरमा क्रियाशील सरकारी, गैरसरकारी र सामुदायिक संघ-संस्थाको सहकार्यमा तथा सामाजिक सञ्जालको प्रयोग गरी नागरिक सचेतना तथा पहुँच अभियान सञ्चालन गर्नु पर्ने उल्लेख छ ।
रोजगार सेवा केन्द्रले गर्ने सञ्चार किन
रोजगार सेवा केन्द्रको सञ्चार अत्यन्तै महत्त्वपूर्ण विषय हो । यसलाई नियमित एवम् उद्देश्यपूर्ण ढंगले प्रभावकारी रूपमा गर्न सकियो भने सेवा केन्द्रको प्रभावकारिता बढाउन उल्लेख्य मद्दत गर्छ । रोजगार सेवा केन्द्रबाट प्रवाह हुने सेवाहरूको बारेमा बेरोजगार व्यक्ति, रोजगारदाता लगायत अन्य सरोकारवालाहरूलाई सूचित गर्न, रोजगार सेवा केन्द्रका सेवाहरूको पहुँचलाई सहज बनाउन, सेवाग्राहीहरूलाई आवश्यक जानकारी समयमै प्रदान गर्न, रोजगार सेवा केन्द्रको विश्वसनीयता बढाउन, रोजगार सेवा केन्द्रप्रति सेवाग्राहीहरूको विश्वास जित्न, सरोकारवालाहरूसँगको सम्बन्धलाई सुदृढ बनाउन, सेवाग्राहीहरूको सहभागिता अभिवृद्धि गर्न आदि रोजगार सेवा केन्द्रको सञ्चार गर्नुका मुख्य आवश्यकताहरू रहेका छन् ।
रोजगार सेवा केन्द्रले गर्ने सञ्चारको उद्देश्य
रोजगार सेवा केन्द्रको नियमित सञ्चारले सबै वर्ग, लिङ्ग, जातजाति र समूहका व्यक्तिहरूलाई रोजगार सेवा व्यवस्थित एवम् समान रूपमा प्राप्त गर्न मदत गर्दछ । रोजगारीका अवसर र सूचनाहरूबारे जानकारी प्रदान गर्नु, रोजगार सेवामा सबै नागरिकहरूको सहज पहुँच अभिवृद्धि गर्नु, रोजगारी सेवा केन्द्रबाट प्रवाह गरिने सेवाहरूको बारेमा जनचेतना अभिवृद्धि गर्नु, बेरोजगार व्यक्तिहरूलाई रोजगारीका अवसरहरूसँग जोड्नु, रोजगार सेवा केन्द्रमा सबै वर्ग, लिङ्ग र समुदायको पहुँचलाई सहज बनाउनु, रोजगारी खोज्ने व्यक्ति र रोजगारदाता बीच सहजीकरण गर्नु, प्रभावकारी सञ्चार संयन्त्र विकास गर्नु रोजगार सेवा केन्द्रले सञ्चार गर्नुका मुख्य उद्देश्य रहेका छन् ।
सञ्चार सामग्रीको विकास
रोजगार सेवा केन्द्रको उद्देश्य, प्रदान गरिने सेवाहरू, उपलब्ध रोजगारीका अवसरहरू, रोजगारीका लागि आवश्यक सीप तथा योग्यता एवम् सीप विकासका कार्यक्रमहरूमा सबै जातजाति, लिङ्ग, वर्ग र समुदायलाई समावेश गर्न, सचेतना फैलाउन सञ्चार गर्नु अपरिहार्य भएको छ । सञ्चार माध्यममा प्रकाशन तथा प्रसारण हुने सञ्चार सामग्रीहरू कस्तो प्रकारको तयार गर्ने, सञ्चार सामग्रीको भाषा के हुने, प्रकाशन तथा प्रसारणको शैली वा ढाँचा कस्तो हुने आदिको बारेमा पहिले नै निर्धारण गर्नु पर्दछ । रोजगार सेवा केन्द्रलाई प्रभावकारी, पहुँचयोग्य र सूचनामैत्री बनाउन ब्रोसर, पोस्टर, बुकलेट, बुलेटिन, पत्रपत्रिका, रेडियो जिंगल, भिडियो, लेख, समाचार, सूचना, सन्देश, प्रेस विज्ञप्ति, अन्तरवार्ता, सफलताका कथा, अभिमुखीकरण, कार्यशाला/गोष्ठी, स्थानीय मेला/सम्मेलन आदि जस्ता सञ्चार सामग्रीहरूको नियमित प्रयोग, प्रकाशन र प्रसारण गर्ने गर्नु पर्दछ । जसले रोजगार सेवा केन्द्रको प्रभावकारिता र पहुँच अभिवृद्धिमा सहयोग पुग्नेछ ।
सञ्चार माध्यमहरूको चयन
सञ्चारलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्न रोजगार सेवा केन्द्रले कुन कुन सञ्चार माध्यमहरूको प्रयोग गर्ने र प्रत्येक सञ्चार माध्यमको भूमिका के हुने आदिको निर्क्योल गर्नु पर्दछ । सञ्चार माध्यमको प्रयोगबाट रोजगार सेवाको प्रभावकारी कार्यान्वयन हुनुको साथै सेवा केन्द्रमा सर्वसाधारणको सहज पहुँच स्थापित हुने गर्दछ । रोजगार सेवा केन्द्रले रोजगार सेवालाई पहुँचयोग्य, प्रभावकारी र सरल बनाउन निम्न सञ्चार माध्यमहरूको प्रयोग गर्नु उपयुक्त हुन्छ ।
(क) परम्परागत माध्यम
§ रेडियो र टेलिभिजन कार्यक्रम: रेडियो कार्यक्रम, टेलिभिजन कार्यक्रम, युट्युब मार्फत समाचार र सूचना तथा जानकारीमूलक सामग्रीहरू प्रकाशन र प्रसारण गरी सूचनाको पहुँच सुनिश्चित गर्नु पर्दछ ।
§ छापा माध्यम: पत्रपत्रिका, बुलेटिन, पर्चा-पम्प्लेट, पोस्टर, ब्रोसरहहरू स्थानीय भाषामा रोजगारमूलक सञ्चार सामग्री प्रकाशन गर्नु गराउनु पर्दछ ।
§ प्रेस विज्ञप्ति: महत्त्वपूर्ण घटनाक्रमहरू बारे नियमित प्रेस विज्ञप्ति जारी गर्नु पर्दछ ।
§ सहभागितामूलक कार्यक्रम: गोष्ठी, सेमिनार, कार्यशाला, सीप तथा रोजगार मेला मार्फत प्रत्यक्ष सरोकारका विषयमा पहुँच स्थापित गर्ने कार्य गर्नु पर्दछ ।
(ख) डिजिटल माध्यम
§ वेबसाइट र मोबाइल एप्स: रोजगारीका अवसरहरूको नियमित अपडेट गरी रहनु पर्छ ।
§ सोसल मिडिया: सोसल मिडिया (फेसबुक, ट्विटर, लिङ्क्डइन) मार्फत नियमित रूपमा रोजगारीका अवसरहरू, कार्यक्रमहरू र सूचनाहरू पोस्ट गर्नु पर्दछ ।
§ मोबाइल सन्देश सेवा: इमेल, एसएमएस, भाइबर, वाट्सएप मार्फत द्रुत जानकारी प्रवाह गर्नु पर्दछ ।
§ ब्लग: रोजगार सम्बन्धी लेख, सुझाव र अन्तर्वार्ताहरू प्रकाशित गर्ने, सफलताका कथाहरू प्रकाशन गर्ने र प्रचारप्रसार गर्नु पर्दछ ।
§ न्यूजलेटर: इमेल मार्फत नियमित रूपमा न्यूजलेटर सम्प्रेषण गर्नु पर्दछ ।
(ग) सामुदायिक सञ्चार: स्थानीय संघसंस्थाहरूसँग समन्वय र सहकार्य गरी स्थानीय सभा, सम्मेलन, समूहमा प्रभावकारिता अभिवृद्धिका लागि काउन्सेलिङ्ग गर्ने कार्यलाई निरन्तरता दिनु पर्दछ ।
निष्कर्ष
रोजगार सेवा केन्द्रबाट प्रवाह हुने रोजगारमूलक सेवाहरूको सञ्चार एवम् प्रचारप्रसार गर्ने कार्य नहुँदा वा व्यवस्थित एवम् उद्देश्यपूर्ण ढंगले सञ्चालन नहुँदा रोजगार सेवा केन्द्रको आवश्यकता र प्रभावकारिता ओझेलमा पर्दै गएको अवस्था छ । रोजगारमूलक सेवा, सूचना र जानकारीहरूमा सर्वसाधारण वर्गको पहुँच नहुँदा कतिपय बेरोजगार व्यक्तिहरूले सेवा र अवसरहरूबाट वञ्चित हुनु परेको छ ।
बेरोजगारीको भुमरी घुम्नु परिरहेको छ । यो अनभिज्ञताको अवस्थाबाट पार पाउन र रोजगारीको हकलाई व्यवहारिक रूपमा कार्यान्वयन गर्न रोजगार सेवा केन्द्रबाट प्रवाह हुने सेवा, सूचना, जानकारी, परामर्श तथा रोजगारमूलक कार्यक्रमहरूमा सरोकारवालाहरूको सहज पहुँच स्थापित गर्न रोजगार सेवा केन्द्रले नियमित एवम् प्रभावकारी सञ्चार गर्नु आजको प्रमुख आवश्यकता रहेको छ । रोजगारमूलक सेवा प्रवाहको विभिन्न विधि र प्रक्रियाहरूको अवलम्बन गर्दै रोजगार सेवा केन्द्रले आगामी दिनहरूमा आफ्नो सेवा प्रवाहलाई प्रतिस्पर्धात्मक बनाउन नियमित सञ्चार गर्नु पर्दछ ।