१, विजयोत्सव – १
खै मलाई जान देऊ
एक टुक्रो सूर्य
म चाहन्छु ।
थुप्रै बसे झोपडीमा
आकाश च्याउँदा, च्याउँदा
आँखाहरू गली सके
तारा खस्ला
र
टिपुँला भन्ने लहड
व्यर्थै रहेछ
खसेनन् ताराहरू आज सम्मै पनि ।
चराहरू नजिकैबाट उडेर गए
खै
एउटा पनि समाउन सकिएन
धिक्कार छ यी हातहरूलाई पनि ।
हाम्रा आवाजहरू विष्फोटित हुनु पर्ने
हामी निरीह भएर बाँच्ने कसरी ?
हामीले एउटा युद्ध लड्नै छ
विजयका झन्डाहरू बोक्नु पर्ने
उमङ्गका नाराहरू घन्काउनु पर्ने
समय गुज्रेर जानै लाग्यो
आउ, युद्धको तयारी गरौँ
झोपडी बाटै विद्रोह थाल्नु छ
हाम्रो विद्रोहले
तिमी पराजित भए पछि
विजयोत्सव मनाऔँ कसरी ?
२, विजयोत्सव –२
विजयोत्सव मनाउनै पर्छ
कैदी जीवनबाट फुत्किएर
हतकडीहरू चुँडाल्नु पर्छ
जे सुकै होस
हुन सक्छ
तानासाहहरूकै पटाङ्गिनीमा धावा बोल्नु पर्छ ।
सूर्यका रापिला किरण फैलाएर
चिराग बोक्दै
यो स्वतन्त्रता सङ्ग्राममा
यो मुक्ति सङ्ग्राममा
रगत बगाउनु पर्छ
हारे हारिन्छ
जिते जितिन्छ
धरतीमा रगत बहाउन सक्नु
एउटा गौरवकै इतिहास हुने छ
तानासाहहरू सँग
अधिकार खोज्ने कसरी ?
युद्ध लड्नु पर्ने
युद्ध लड्ने कसरी ?
यो युद्धमा होमिनु भनेको
दुष्ट कौरवहरू अवसान गराएर
पाण्डवहरूको सत्ता फर्काउनु जस्तै त हो ।
कहाँ हार्न हुन्छ र युद्ध ?
इतिहास साक्षी छ
कि कसले प्रगति अवरुद्ध गर्न सकेको छ ?
कि को तानासाह अजम्मरी भएर बाँचेको छ ?
समय हो
आउँछ
आउनु पर्छ
हामीले जान्दा जान्दै
मार्कोसले पनि हार्नु परेको छ ।
सावधान !
हामीलाई स्वतन्त्रता चाहिएको छ
हामीलाई उन्मुक्ति चाहिएको छ
हामी त यही प्रस्ताव लिएर आउँदै छौ
यसपालि त विजयोत्सव मनाउनै पर्ने छ
जिन्दगीलाई क्रस चिन्ह टाँगेर ।
३, विजयोत्सव – ३
आहा
सडक भरी
यत्रो ठुलो लाम लागेको छ
देखेनौ
आमाहरू
बाबाहरू
र कर्मठ योद्धाहरू
कसरी झण्डा फहराइरहेछन ?
मुक्तिका गीत गाउँदै
आउ
रगतको टीका लगाउनु छ
विश्वासका हातहरू फैलाएर
तिमीले अन्तिम युद्ध लड्नु छ
तिमी त पराक्रमी मान्छे
युद्धमा विजय प्राप्त गरी
तिमीले विजयोत्सव मनाउनु छ ।
सुन्दरहरैंचा–६, दुलारी, मोरङ