काठमाडौँ । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले नेपालको स्वास्थ्य क्षेत्रमा निजी अस्पतालले पुर्याएको योगदान महत्त्वपूर्ण रहेको बताएका छन् ।
कलंकीस्थित नेपाल नेशनल अस्पतालमा आजदेखि सुरु भएको डायलाइसिस सेवा शुभारम्भ गर्दै उनले नेपालको स्वास्थ्य क्षेत्रमा निजी अस्पतालले महत्त्वपूर्ण भूमिका रहेको बताए ।
“स्वस्थ खानपानको अभाव र प्रदूषणलगायतका विभिन्न कारणले गर्दा मिर्गौला रोगीहरूको संख्या बढिरहेको छ, मिर्गौला रोगीहरूको संख्या बढ्नुले स्वास्थ्य व्यवस्थापनमा चुनौती थपिएको छ”, अर्थमन्त्री पौडेलले भने ।
उनले मिर्गौला रोगीको संख्या दिन प्रतिदिन बढिरहेको अवस्थामा नेपाल नेशनल अस्पतालले डायलाइसिस सेवाको सुरुवात गरेर धेरैभन्दा धेरै बिरामीलाई सहज सेवा दिन खोजेकोमा खुसी व्यक्त गरे । सरकारले गरिरहेका प्रयासहरूमा निजी क्षेत्रबाट पनि मद्दत गर्ने पहल सकारात्मक भएको उनको भनाइ थियो ।
अस्पतालका निर्देशक डा. प्रकाश पौड्यालले नेपालमा अहिले मिर्गौला रोगीको अवस्था भयावह रहेको बताए । उनले हरेक १६ जना वयस्क व्यक्तिमध्ये एक जना मिर्गौलाको बिरामी रहेको तथ्यांंक रहेको उल्लेख गरे ।