काठमाडौँ। काठमाडौँका दुई फरक ठाउँमा आगलागी हुँदा ३२ लाख रुपैयाँ भन्दा बढीको क्षति भएको छ ।
बुढानीलकण्ठ नगरपालिका-८ माहांकालस्थित रामचन्द पराजुलीको जग्गा भाडा लिई जस्ताले बनाएको सटरहरूमा आगलागी भएको थियो ।
कपन बस्ने इश्वर गौतमको फर्निचर उद्योग, वीरेन्द्र साहको माछा पसल, रुद्र बस्नेतको क्याटरिङको सामान पसल, लिलाबहादुर तामाङको खाजा घर र अर्जुन चौधरीको मोटरसाइकल ग्यारेजमा शनिबार राति आगलागी भएको थियो ।
आगलागीबाट २५ लाख १४ हजार रुपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ । यसैगरी काठमाडौँ महानगरपालिका-३२ कोटेश्वर रत्नमार्गस्थित सुरेश ढकालको घरमा पनि आगलागी भएको थियो ।
उक्त घरमा डेरा गरी बस्ने गोरखा नगरपालिका-१ घर भएका ३३ वर्षीय राम बहादुर थापाको कोठामा विद्युत् सर्ट भई शनिबार राति आगलागी भएको थियो । आगलागीबाट कोठामा रहेको सरसामान जलेर करिब ७ लाख ५५ हजार ५ सय रुपैयाँ बराबरको धनमाल नष्ट भएको छ ।







