काठमाडौँ । अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिमा नेपाल वायु सेवा निगमको विमान सञ्चालन व्यवस्थापन सम्बन्धमा छलफल भएको छ ।
सिंहदरवारस्थित समिति सभाहलमा मंगलबार भएको छलफलमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्रीप्रसाद पाण्डेले जहाजहरू खरिद गर्दादेखि नै नेपाल एयरलाइन्समा विभिन्न समस्या देखिइरहेको बताएका हुन् ।
उनले सञ्चालन गर्ने मोडालिटीमा पारदर्शितादेखि टिकट बिक्री वितरणसम्ममा पारदर्शिता देखाउने गरी काम गर्ने उपाय खोज्नमा लागिपरेको जानकारी दिए ।
उनले भने, ‘पटकऔपटक नेपाल एयरलाइन्सका विभागीय प्रमुखहरूसँग, कार्यकारी अध्यक्षसँग छलफल गरिरहेका छौँ । हाम्रा जहाजहरू खरिद गर्दादेखि नै विभिन्न मुद्दा वा विषयमा विभिन्न विवाद चलिरहेको विषय साथै सञ्चालन गर्ने मोडालिटीमा पारदर्शिता देखाउनुपर्ने एवम् टिकट बिक्रीमा देखिएका समस्याहरू समाधान खोजिरहेका छौँ ।’
समिति सदस्य सुनिता बरालले नेपाल एयरलाइन्सको काउन्टरमा हुने सामान्य व्यवहारलाई पनि प्रश्न गर्नुपर्ने ठाउँमा पुग्नु दुःखद रहेको बताइन् ।
वायु निगम एउटा मात्र बाटोले सेवाहरूसँग जोडिने विषय नभएकाले कर्मचारीहरूलाई टिकाइराख्न र निरन्तर प्रभावकारी बनाउन गर्नुपर्ने काममा कति निगमले प्रयास गरेको भन्ने कुरा पनि आउनुपर्ने उनले बताइन् ।