२०८१ साल कार्तिक महिनाको अन्त्यतिर जन्मस्थल खस्यौली पुगेको थिएँ । बाले निर्माण गरेको र आफू जन्मे हुर्केको घरमा पुग्दा मनै आनन्दित भयो । त्यही भावुक प्रफुल्लतामा मैले ‘बाको घर’ ‘क्याप्सन’ राखेर घर, बारी र सेरोफेरोको तस्बिर फेसबुकमा राखेको थिएँ ।
तस्बिर अवलोकन गर्ने कतिपय मित्रहरूले ‘बाको घर’ शीर्षकमा एउटा निबन्ध लेख्ने सुझाव दिनुभयो । कतिले अब खस्यौली र बाको विषयमा थप सामग्री पढ्न पाइने भयो भन्दै हौसला दिनुभयो । प्यारा मित्रहरूबाट प्राप्त त्यही प्रेरणाको पाइतो बाबारे लेख्नुपर्यो भन्ने विचारले ल्यापटप अगाडि राखेर बसेँ । लेख्न भनेर जमर्को त गरेँ, तर बाबारे सुरुवात गर्नै अति नै गाह्रो भयो ।
आमाको बारेमा लेख्न सजिलो छ । त्यहाँ आँसु, हाँसो र रोदन पोख्न पाइन्छ । त्यहाँ शब्दमा लालित्य पैदा गरेर पाठकलाई भावुक बनाउन सकिन्छ । त्यहाँ मातृमय कोमलता र करुणाको गण्डकी बगाउन सकिन्छ । परन्तु पिताको बारेमा लेख्न कठिन रहेछ ।
‘बा’को छविलाई हाम्रो संस्कृतिले कठोर बनाएको छ । बाको व्यक्तित्वमा हाम्रो परम्पराले रोदनहीनता र अश्रुहीनताको अपेक्षा गर्दछ । आमालाई चिन्न सजिलो छ, बालाई चिन्न कठिन । आमा व्यक्त हुन्छिन्, बा अव्यक्त । आमाको हृदयले पीडाको भारी धान्न सक्दैन, आँसु बनेर पोखिन्छ । बाको छातीभित्र पनि भावको भण्डार हुन्छ । बाको हृदय पनि एउटा सुख – दुःखको भावालय हो । परन्तु ती भावहरू स्थिर भएर बस्न विवश छन् । छचल्किएर पोखिने सुविधा बाको आँसुलाई हुँदैन । थुप्रै बाहरू आफ्ना तमाम मनोभावहरूलाई हृदयको कन्दरामा लुकाउँदै पीडालाई अव्यक्त राखेर धर्तीबाट बिदा हुन्छन् ।
आमाको वक्षबाट दूग्धधारा बग्ने हुँदा त्यसलाई हाम्रो संस्कृतिले कोमलता र करुणाको वासस्थान मानेको छ । आमा वर्णनीय र सुपाठ्य हुन्छिन् । आमाको आभा रङ्गीन हुन्छ, बाको श्वेतश्याम मात्र । बारूपी किताबमा पनि धेरै भावनाहरू लेखिएका हुन्छन्, तर ती पाना पल्टाएर हेर्ने झन्झट कसैले गर्दैन । हामी बारूपी किताबलाई भावालय नभई विचारालय किंवा कठोरालय मान्दछौँ । बा पनि आफ्ना भावनाका पानाहरूलाई भरसक लुकाएर राख्दै वैचारिक पानालाई मात्र खुला राख्न मन पराउँछन् ।
‘बा के हो ?’को उत्तरमा कसैले भनेको सुनेको थिएँ, आवाज र आँसु लुकाएर जो रुन्छ त्यही नै बा हो । जसले आफ्ना सन्ततिलाई लुकाएर स्नेह गर्छ, त्यही नै बा हो । सुक्खा बगरको एक्लो वट वृक्षझैँ जो अस्तित्वको रक्षाका खातिर एक्लै खडा रहन्छ त्यही नै बा हो ।
मेरो समयकी आमा ‘छैन सक्दिन’ भनेर पन्छन पाउँथिन् । किन्तु छैन, सक्दिन र जान्दिन भन्ने छुट बालाई थिएन । आमालाई घरायसी कलह र विपन्नतालाई उजागर गर्ने छुट थियो । उनी पतिको काँधमा आफ्नो भारी बिसाएर हलुका हुन्थिन् । परन्तु बाको भारी बिसाउने बिसौनी र बोझ अड्याउने टेको हुँदैनथ्यो । आमा रुन थालिन् भने कोमलहृदया अबला कहलिन्थिन् । बा रुन थाले भने सारा परिवार, कुटुम्ब र समाजले पामर भनिदिन्थ्यो । बाहरू जीवनले दिएका अनेकौँ हन्डर र ठक्कर सहेर मौन बस्थे । बोलेर पोलिनुभन्दा चुपचाप कर्ममा सरिक हुँदा नै ‘बा’पनको गरिमा कायम रहन्थ्यो ।
मेरा बाको नाम अम्बिकाप्रसाद हो । बाका एक जना दाजु, तीन जना दिदी र एउटी बहिनी हुनुहुन्थ्यो । मेरा जेठा बा छविलालले गुल्मीको ग्वादी र बाले कोलौदीका ज्ञवाली थरका कन्यासँग विवाह गर्नुभएको थियो । मेरो मावली हजुरबुवाको नाम गुरुदत्त ज्ञवाली ( धुकुते कान्छा ) हो । मेरा चारै जना फुपूहरूको विवाह पनि ज्ञवाली परिवारमै भएको थियो । जेठी र साहिँली फुपूको घर कोलौदी तथा माहिली र कान्छीको मानकोट हो । जेठीको घरलाई उपल्लार, माहिलीको धौलेघर, साहिँलीको बगालेघर र कान्छीको घरलाई आँप खर्क भनेर चिनिन्थ्यो । बाको मामाघर पाल्पाको रुप्से हो । बाका मावली भाइ जगन्नाथ शर्मा पन्थीको तानसेन बडी ज्ञान टोलमा जनप्रिय होटेल ( यात्री निवास ) थियो, जो पाल्पा जिल्लाकै पहिलो आधुनिक आवासीय होटेल हो ।
बाका पिताको नाम बुद्धिप्रसाद हो । बुद्धिप्रसाद जन्मेपछि थुप्रै भाइबहिनीको पनि जन्म भएको थियो रे । तीमध्ये धेरैजसोको बाल्यकालमै निधन भएछ । जेठा बुद्धिप्रसाद र उहाँभन्दा बिस वर्षले कान्छा भाइ केशवराज मात्र पछिसम्म बाँचेको हुँदा उहाँहरू दुई भाइका सन्तति हामीहरू देश देशावरमा फैलिएर रहेका छौँ ।
मेरा बाजेहरूमध्ये जेठा बुद्धिप्रसाद परम्परागत पौरिहित्य र खेतीपातीको काम सम्हालेर खस्यौलीमै बस्नुभयो । कान्छा केशवराज चाहिँ सरकारी जागिरमा प्रवेश गर्नुभयो । उहाँ खस्यौली र सेरोफेरोमा बिचारी बाजे भनेर चिनिनुहुन्थ्यो । अझै पनि बुढा पुराना स्थानीय मानिसले उहाँका सन्ततिलाई बिचारीका नाति नातिनी भनेर चिन्छन् ।
मेरो बा सानै हुँदा हजुरबुवालाई पिसाबसम्बन्धी रोग लागेछ । लक्षण सुन्दा सायद प्रोस्टेटको रोग हो जस्तो लाग्छ । कान्छो हजुरबुवा केशवराजले दाजुको उपचारमा कुनै कसर बाँकी राख्नुभएन । विक्रम संवत् १९८३ सालमा पाल्पा र नेपालको तराईमा समेत यातायातको सुविधा थिएन l कान्छा हजुरबुवाले दाजुलाई डोलीमा बोकाएर गोरखपुर र त्यहाँबाट रेलमा लखनउ पुर्याउनभयो । हजुरबुवाको त्यहीँ लखनउमा करिब ५१/५२ वर्षको उमेरमा निधन भयो । कान्छा हजुरबुवा गोमती नदीको किनारमा दाजुको दाहसंस्कार गरेर एक्लै खस्यौली फर्कनुभयो ।
हजुरबुवाको देहावसान हुँदा बा नौ वर्षको हुनुहुन्थ्यो । बाले पिताको सान्निध्यमा रहेर सग्लो अक्षर चिन्नुभएको थियो । पछि उहाँ काठमाडौं गएर तीन धारा पाठशालामा भर्ना हुनुभयो । नब्बे सालको महाभूकम्पपछि बा काठमाडौं पुग्नुभयो त्रियानब्बे सालमा राजा त्रिभुवनको गद्दी आरोहणको रजत महोत्सव, भूकम्पको विनाशलीला र राणाहरूको सानबारे बालाई धेरै जानकारी थियो । त्यसबारे न बाले केही लेखेर छाड्नुभयो, न त मैले नै टिपोट बनाएँ ।
जुनसुकै पिता छोराछोरीको प्रथम नायक हुन्छ । सानो छउन्जेल बाभन्दा बलवान, बिद्धिमान र समझदार मानिस अर्को कोही लाग्दैन । बा नै रक्षक, शिक्षक र प्रोत्साहक । बा नै भयदायक र अभयदायक पनि । बा नै परिचय र बा नै पहिचान । बा लाखौँ वर्षदेखि सर्दै आएको पूर्वजीय विरासत हुन् । बा बीजारोपण एवं जनक हुन् । बा आफ्नो अस्तित्वलाई सन्ततिको अस्तित्वमा सारेर सदा जीवित रहिरहन्छन् ।
मेरा बा पनि तत्कालीन अन्य बाहरूझैँ माया लुकाउन खप्पिस हुनुहुन्थ्यो । चेपारो पार्ने र फकाउने कलाको नितान्त अभाव थियो उहाँमा। परन्तु मेरा पनि बा छन्, मेरो पनि समाजमा पहिचान छ र म फलानाको छोरो हुँ भनेर मन ढुक्क हुन्थ्यो ।
संसारमा सबैभन्दा धेरै अपनत्व र स्वामित्व बोध बाको घरमा हुन्छ । छोरालाई बाको घरको मालिक हुन पाउँदा आनन्द लाग्छ । किन्तु समयको फेर र फरक चिन्तनले गर्दा बाको घरमा केही न केही कमी महसुस हुन्छ । बाको घर सम्बन्धी यही मनोविज्ञानले युगौँ युगदेखि काम गर्दै आएको छ । छोरालाई बाको घरप्रति अनुराग पनि हुने र आफू अनुकूल आफ्नो घर पनि चाहिने । मेरो बाले आफ्ना बाको घरको निकै बखान गर्नुहुन्थ्यो, किन्तु आफ्नै रहर अनुरूपको अर्को घर बनाउनुभयो । अपनत्व र अनुरागभित्र नवीकरणको चाहनाले नै बाभन्दा छोराछोरी आधुनिक, सम्पन्न र समझदार हुँदै गएका हुन् । पिता सन्तानका लागि आदर्श हुन्, परन्तु सन्तति उनैको पदचापको अनुगमन गर्दै अझै अगाडि बढ्न चाहन्छ ।
बाको घर एक शीतल छहारी हो । परन्तु छहारीभित्र बसेर मात्र प्रगति हुँदैन । बाको कमाइमा निर्भर भएर बस्ने र त्यसैमा सेखी गर्ने मानिसको समाजमा इज्जत पनि हुँदैन । बाको घरको अभिप्राय ढुङ्गा, माटो या छड सिमेन्टले बनेको भौतिक संरचनामा सीमित छैन । बाको घरको अर्थ हो एउटा भरोसा, संस्कृति, परम्परा, लगाव, भावुकता र त्यसमा गर्न चाहेको नवीकरण र आधुनिकीकरणको प्रवृत्ति ।
मेरो जन्म हुनुभन्दा केही वर्षअघि बाले तत्कालीन सन्दर्भमा आधुनिक भन्न मिल्ने घर बनाउनुभयो । बाको घरले नेवारी वास्तुकलाको झल्को दिन्थ्यो । बिचको तलामा निर्मित आँगनतर्फ फर्केको बैठक कोठामा दुईतिर आँखीझ्याल र बिचमा ठुलो कलात्मक झ्याल । तल्लो तलाको दलानबाट घरभित्र छिर्ने बुट्टेदार ढोका । दलानमा नेवारी पसलमा जस्तै खोल्ने र बन्द गर्ने ढिक र कोटाल । घरको माथिल्लो भित्तो कमेरो र तल्लो भाग रातो माटोले लिप्ने र झ्यालमा सकिएका ब्याट्री थिचेर बनाएको कालो रङ लगाउने चलन थियो ।
आँगनको बाहिरी भागमा पर्खाल चिनेको थियो । पर्खालमाथि च्याप्टा दर्सिनढुङ्गाको छपनी राखेको हुँदा उपस्थित मानिसहरूलाई लिप्टे गुन्द्रा बिछ्याएर ओलिम्तै बसाल्न मिल्थ्यो । आँगनमा प्रत्येक कार्तिक महिनामा अग्लो सालको लिङ्गो गाडेर त्यसमाथि आकाशदीप बाल्ने परम्परा थियो । बाको घर मलाई सबैभन्दा प्यारो लाग्छ । किन्तु त्यो मेरा लागि पर्याप्त भएन । प्यारो लाग्दालाग्दै पनि युगकवि सिद्धिचरणले बाको घर छाडेका थिए । म पनि उनै कविझैँ भाग्यको लहरोमा लहरिंदै उनकै ‘मरुस्थल’मा आइपुगेको छु । आज मेरा छोराहरूलाई पनि उनीहरूको बाको घर पर्याप्त भएन । जेठो छोरो विमर्शलाई मैले रहरले विदेश पठाएँ । कान्छो विधान चाहिँ स्वदेशको राम्रो काम छाडेर आफ्नै लहडले विदेशतिर हानियो ।
बाको सङ्ग्रहमा श्रीमद्भागवत महापुराणका निकै पुराना संस्करणहरू थिए । तिनका भित्री बाहिरी पानाहरू च्यात्तिएको हुँदा प्रकाशनको समय पत्तो लाग्न सकेन । रुद्री, चण्डी, विष्णुसहस्रनाम र गीता बालाई कण्ठस्थ थिए । भागवतका विशेष विशेष श्लोकहरू पनि मुखाग्र थिए । मैले सानै हुँदा सुब्बा होमनाथ – केदारनाथवाला महाभारत र शुकसागर पढेको थिएँ । विवाह पद्धति, श्राद्ध, स्वस्थानी, यज्ञमा पाठ गर्ने गरिएको यजुर्वेदको केही भाग र लघु कौमुदीको किताब पनि देखेको थिएँ । ती किताबहरूमध्ये केही बाले आफ्नो जीवनकालमै जिज्ञासुहरूलाई दिनुभयो । केही बा दिवङ्गत भएपछि कसैले मागेर लिएर गए । अहिले खस्यौलीमा बाहिरी पाना च्यातिएका केही पुस्तक र मेरो साथमा बा नजन्मँदै बम्बईमा छापिएको धर्म सिन्धु एवं गीता प्रेसबाट प्रकाशित करिब सत्तरी वर्ष पुरानो सटीक गीताको पुस्तक मात्र छ । बामा बिचैमा पढाइ छाडेर आएकोमा मानसिक पीडा र पश्चात्ताप थियो । किन्तु त्यो पश्चात्तापलाई शब्दमा व्यक्त गर्नु भएन ।
सायद अर्थनाशंमनस्तापंगृहेदुश्चरितानिचवञ्चनंचापमानंचमतिमान्नप्रकाशयेत् भन्ने नीति वचनको प्रभाव होला ।
एक दिनको कुरा हो I एक जना ठट्यौलो स्वभावका नेवार साहुजी बालाई भेट्न आएका थिए I सुरुमा उनले औँसी कहिले हो, घटस्थापना कहिले हो र दसैँको टीकाको साइत कति बजे छ जस्ता कुरा सोधे I बाले पात्रो हेरेर सबै कुरा बताएपछि उनले सोधे, ‘यो शरीर मरेपछि यहीँ जलाइन्छ या गाडिन्छ, अनि आत्मा चाहिँ उडेर जान्छ हैन त कान्छा बाजे ?’ बाले हो भनेपछि उनले फेरि सोधे, ‘शरीर यहीँ जल्यो या गाडियो, आत्मा उडेर गयो । आत्मा न कहिल्यै जन्मन्छ, न मर्छ, न डढालेर डढ्छ, न फुकाएर फुक्छ र न त सुकाएर सुक्छ हैन त ?’ बाले हो भनेपछि चतुर साहुजीले फेरि सोधे, ‘अनि त्यसो भए मरेपछि जेमराजले कसलाई भकभकी पाकिरहेको तातो तेलमा चोबलेर सजाय दिन्छ त कान्छा बाजे ?’ बा गोरखपुरे नक्कली बत्तिसी देखाउँदै मुस्कुराउनु भयो, केही जवाफ दिनुभएन । मलाई त्यसरी उत्तर नदिनुको रहस्य धेरै समयपछि मात्र थाहा भयो । बुद्ध पनि कुनै कुनै प्रश्नको उत्तर दिनुको सट्टा मुस्कुराएर टारिदिने गर्दथे ।
मेरो व्रतबन्ध सात वर्षको उमेरमा भयो । नित्यप्रात: नुहाएर धोती फेर्नुपर्थ्यो । जप नगरीकन केही खान नपाइने । खाना खाने बेलामा अपानायस्स्वाहा, व्यानायस्स्वाहा … गर्दै ‘बल’ हालेर मात्र खानुपर्थ्यो । जाडोको बेलामा त साह्रै नै गोता खाइयो । म नुहाउँदा बाले देखेको बेला ‘गङ्गे च यमुने चैव…’ र नदेखेको बेला भीमनिधिको ‘मैना माघ थियो समस्त जलमा ऐना जमेको थियो’ भन्दै जाडो भगाउने प्रयास गर्थेँ । नेवार, मगर र विश्वकर्मा साथीहरूको स्वतन्त्रता देखेर ईर्ष्या लाग्थ्यो मलाई । नेवार सङ्गातीहरू मलाई ‘नेवार देउता बाहुन भेउता’ भन्दै चिढ्याउँथे । यो के भनेको ? भनेर सोध्दा जवाफ आउँथ्यो, ‘नेवार कहिलेकाहीँ मात्र नुहाउने हुँदा देउता भयो, बाहुन नित्य नुहाउने हुँदा भ्यागुता भयो ।’
बाको निरन्तर तमाखु खाने आदत थियो । तानसेनमा किनेको ढलोटको हुक्का र रिडीमा किनेको बागलुङे नली । बा रिस उठ्यो कि त्यही नलीले उज्याउनुहुन्थ्यो । हामी हुरुरु भाग्थ्यौँ । बाले बाटेका जनै निकै खिरिला हुन्थे । दाम्ला बाट्न, फरिका बुन्न र चोया काट्न पनि निकै प्रवीण हुनुहुन्थ्यो बा । जनै पूर्णिमाका दिन बिहान चार बजे उठेर नुहाउन जाँदा साह्रै रमाइलो हुन्थ्यो । वैदिक विधि पुर्याएर नुहाउन मात्र दुई- अढाई घण्टा लाग्थ्यो । त्यसपछि सज्जन पण्डित विष्णुप्रसाद गौतमको घरमा विधिपूर्वक जनै र रक्षा बन्धन पुजेपछि मात्र जनै फेर्न र रखौँदो बाँध्न पाइन्थ्यो ।
एक दिन बाले मलाई उहाँको मावल तानसेन जनप्रिय होटेल लिएर जानुभयो । त्यो मेरो पहिलो सहर भ्रमण थियो । बाले वैद्य दशरथको घर देखाइदिनुभयो । शीतल पाटीमा मिठाइ र बदाम बेच्नेहरूले ‘एई भक्काभक’ भन्दै लोभ्याइरहेका थिए । ढाक्रेको घुइँचो थियो । फर्कने बेला चुत्रा भन्ज्याङ ( अचेल कैलाश नगर भन्छन् )मा गुन्द्रीमाथि थालहरूमा सजाएर खानेकुरा बेच्न राखेको देखेँ । मलाई पहेँलो रङ्गका फ्राई गरेका डल्ला देख्दा साह्रै लोभ लाग्यो । भनेँ, ‘बा ऊ त्यो खान्छु’ बाले भन्नुभयो, ‘धत् त्यस्तो पनि खान्छन् ? त्यो त कुखुराको फुल हो ।’ म लाज र ग्लानिले भुतुक्क भएको थिएँ ।
भर्खर व्रतबन्ध भएको मलाई कुन कुन कुरा गरे जात जान्छ भन्ने कुरा सिकाइएको थियो । कुखुराको मासु या फुल खाए जात जान्थ्यो । सुँगुरले छोयो भने नुहाएर विधिपूर्वक जनै फेर्नुपर्थ्यो । तर मलाई छाडेर त्यो जात भन्ने चिज कहाँ जान्छ होला भन्ने थाहा थिएन । ती सारा प्रपञ्च बुझेपछि मैले ‘पाँच पटक जात गयो’ शीर्षकमा गोरखापत्रमा लेख प्रकाशित गरेको थिएँ ।
बाको आफ्नो ‘स्पेसल’ कोठा थियो । त्यो कोठालाई अहिले पनि हामी बैठक भन्ने गर्छौँ । बा किताबहरू कपडामा बाँधेर जतनले राख्नुहुन्थ्यो । कुनै पनि कुराको लापरबाही बालाई मन पर्दैनथ्यो । बा बिहान उठेर तमाखु खानुहुन्थ्यो । कुनै दिन अगिल्लो साँझ पुरेको अगुल्टो मरेको पाउनुभयो भने आफ्नो रौद्र रूप देखाउनुहुन्थ्यो । साँझ बिहान पूजा गर्दा धुपौरोभरि झरिलो आगो चाहिन्थ्यो । धूपको डल्लो पनि ठुलै खोज्नुहुन्थ्यो । उता आमालाई पुर्याउनै धौ पर्थ्यो ।
बा रिसाहा हुनुहुन्थ्यो, तर दयालु । समयको फेरसँगै श्रीमतीलाई अदबमा राख्नुपर्छ भन्ने सोच परिवर्तन भयो । बाले बुहारीहरूबाट कडा अनुशासन र अदबको अपेक्षा गर्नुभएन । समयको पदचापलाई सम्मान गर्दै पारिवारिक सम्बन्धको बदलिँदो स्वरूपलाई आत्मसात् गर्नुभयो । अतीतका कठोर प्रवृत्तिलाई सहज भावले त्यागेर आफ्नो निष्ठालाई कायमै राक्दै सभ्यताको नयाँ दौरको बेलैमा पहिचान गर्नुभयो । तमाखु खाने आदतलाई बलैले त्याग्नुभयो । श्रीमतीबाट जुन निष्ठा प्राप्त छ, त्यो बुहारीबाट प्राप्त हुँदैन भन्ने कुरा समयमै महसुस गर्नुभयो । बालाई छोराहरूले कुखुरो खान्छन् भन्ने थाहा थियो, तर केही भन्नुभएन । मदिरापान बारे भने सायद भेउ पाउनुभएन ।
जीवनमा दुर्दशा एक्लै आउँदो रहेनछ । भाइ भिन्न हुँदा बाको भागमा असी नाघेकी वृद्ध माता पनि पर्नुभयो । भिन्न हुने समयमा जेठा बाका सन्तान हुर्किसकेका थिए । उहाँले बाह्र वर्षका राम र भरतको क्रमशः विवाह गरिदिएर छोराहरूलाई पढ्न भनेर मटिहानी पठाउनुभयो । यता बा भने लगालग नौ जना सन्तानका पिता बन्नुभयो । ससाना छोराछोरी, नब्बे नाघेकी आमा, खर्चमा अत्यन्त वृद्धि, परन्तु आम्दानीमा ह्रासको दौर चल्यो केही वर्ष । बाले आफ्नो जीवनको त्यो निष्ठुर समयलाई कसरी पार गर्नुभयो होला ? सम्झेर ल्याउँदा आज पनि मनै सिरिङ्ग हुन्छ । जीवनको गति र मति बुझ्न विपद् र अभावभन्दा सच्चा गुरु अर्को केही रहेनछ ।
सानै थिएँ । बाको भाग्य विपर्ययको युग चलिरहेको बेला थियो । म र बहिनी बिन्दु पर्खालको छपनीमाथि बसेर बाको आँखीझ्याले घरलाई नियालेर हेर्थ्यौँ । यति सुन्दर घर, तैपनि अभाव किन होला ? पउल हुँदा मात्तिने र अभावको बेला आत्तिने गर्नु हुँदैन भन्ने बाको थेगो नै थियो । किन्तु आफूलाई पर्दा बा पनि हतास भएको चाल पाइन्थ्यो ।
बाका पनि गुनासा थिए होला । बाका पनि अपेक्षा थिए होला । तर कहिल्यै सुनाउनुभएन । हामी छोराहरू सक्षम हुँदै गएपछि सायद बाले छोराहरूले आफै बुझ्लान् नि भनेर पो सोच्नुभयो कि । केही चाहिन्छ ? भनेर सोध्दा ‘मसँग छ’ मात्र भन्नुभयो । बा याजमानी पनि गर्नुहुन्थ्यो । भन्नुहुन्थ्यो, ‘मसँग मेरा जजमानले दिएको प्रतिग्रह छ ।’ आज मलाई पनि मेरा छोराहरूले ‘केही चाहिए भन्नुहोला, दुःख नगर्नुहोला’ भन्छन् । तर छोराले बाबुसँग जसरी खुलेर माग्न सक्छ, बाबुले नसकिने रहेछ । दु:खार्ती भएर कुरा गर्न मन लाग्दो रहेनछ । सायद प्रकृतिले निर्धारण गरेको नियम नै यही हो कि ।
बा भन्ने गर्नुहुन्थ्यो, ‘उन्नति गर्न चाहनेले प्यारो वस्तुलाई त्याग्नुपर्छ । लाड प्यारबाट मात्र जिन्दगी चल्दैन । प्रगतिका लागि सिक्नुपर्छ । सिकेर मात्र पुग्दैन, हन्डर र ठक्कर पनि खानुपर्छ । खानीबाट निकालेको कच्चा सुन जस्तै हो जीवन । बारम्बार तताएर घनले ठोकेपछि मात्र त्यो शुद्ध सुवर्णमा परिणत हुन्छ । कोही विद्वान बन्न चाहन्छ र कोही धनी । किन्तु चाहना गर्ने धेरै जसोलाई त्यस्तो बन्नका लागि आफ्नो मूर्खता र आलस्यलाई त्याग्नुपर्छ भन्ने कुराको हेक्का हुँदैन ।’
बा घरका सिइओ हुन्, परन्तु उनी घरका कामचोरलाई ‘फायर’ र कामदारलाई ‘हायर’ गर्न सक्दैनन् । बाले जे जो साथमा छ, उसैबाट काम चलाउनुपर्छ । बाले धेरै कुरा सहनुपर्छ । सम्हाल्न नसके ‘हुतीहारा’को अपटिक लाग्छ । बा घरका त्यस्ता वृहस्पति हुन्, जसलाई जीवन पर्यन्त अस्ताउने फुर्सद हुँदैन ।
‘जीवन के हो ?’ भन्ने प्रश्नमा बा भन्नुहुन्थ्यो, ‘रित्तै आउनु, परिश्रमपूर्वक अनेक सामग्री जम्मा गर्नु र अन्त्यमा सबै छाडेर रित्तै जानु नै जीवन हो । तर मनुष्य जम्मा गर्न अभिशप्त छ । नत्र जीवनको प्रयोजन नै रहन्न ।’ बा भन्ने गर्नुहुन्थ्यो, ‘आफूलाई चिनेपछि मात्र अरूलाई चिन्न सहज हुन्छ । आफ्नो चरित्रको विश्लेषण आफैले गरेपछि मात्र अरूको चरित्रमा खोट खोज्ने प्रवृत्तिले विश्राम लिन्छ ।’ आफ्ना सङ्गातीहरूसँग कुराकानी गर्दा बा भन्नुहुन्थ्यो, ‘वाणीको आश्रय मौन , बुढापाको आश्रय अनपेक्षा, धर्मको आश्रय करुणा, पापको आश्रय कुकर्म र परपीडन, इमान र चरित्रको आश्रय सदाचार , विद्याको आश्रय अध्ययन र सम्पत्तिको आश्रय मेहनत हो ।’
बाल्यकालमा पिता गुमाएका बाले हजुरआमाको निकै स्याहार गर्नुभयो । बाको जीवनको गोधुली बेला हजुरआमाको सेवा र छोराछोरी हुर्काउनमै बित्यो । बाले हजुरआमाको जीवितै अवस्थामा कालीगण्डकीको जलमा अर्ध जल भएर प्राण त्याग गर्ने इच्छा पूरा गरिदिनुभयो । २०२६ सालको मङ्सिर महिना, सद्मी छर्ने दिन थियो । झन्डै एक सय वर्ष पुग्न लागेकी हजुरआमाले नित्य सेवन गर्ने गरेको मह मिसाएर बनाएको ओखती चाट्न सक्नुभएन । हजुरआमाको जिब्रो लुलो भएछ । बाले बिहानै ‘आज आँबैलाई अर्ध जल लाने हो’ भन्दै दाजुभाइ जम्मा गर्नुभयो । साँझ रिडी पुर्याइएकी हजुरआमा अर्को दिन बिहान भगवान् हृषिकेको दर्शन गरेपछि तुरुन्तै सिकिस्त हुनुभयो । उहाँ गण्डकीमा अर्ध जल भएकै अवस्थामा दिवङ्गत हुनुभयो ।
बा घरको स्वामी जस्तो देखिए तापनि आफ्नी आमा र सन्ततिका इमानदार चौकीदार हुनुहुन्थ्यो ।
पछिल्लो समय अर्ध जल लैजाने चलन बन्दझैँ हुँदै गएको हुँदा बाले अर्ध जल जाने इछा व्यक्त गर्नु भएन । बाको इच्छा खस्यौलीमा आफैले निर्माण गरेको घरको आँगनमा तुलसीको मठको सान्निध्यमा देह त्याग गरेर गण्डकी किनारामा सद्गति प्राप्त गर्ने थियो । परन्तु जन्म र मृत्यु कसैको काबुमा किन हुन्थ्यो ।
मेरा बाजेको मृत्यु भारतको लखनउ सहरमा भएको थियो । त्यसको सतसट्ठी वर्षपछि २०५० सालको भाद्र महिनामा बा नातिनातिनाको मायाले नेपालगन्ज पुग्नुभयो । बाले ऋषि पञ्चमीका दिन छोरीबीटी र बुहारीहरूमाझ बसेर विधिवत् पञ्चमीको पूजा गराउनुभयो । सन्चै हुनुहुन्थ्यो । साँझ माहिला दाइ दुर्गासँग बसेर साबिक बमोजिम नै खाना खानुभयो ।
बिहान चार बजेतिर बाले सुस्तरी ढोका हान्दै ‘दुर्गा दुर्गा !’ भनेर बोलाउनुभएछ । दाइले उठेर के भयो ? भनेर सोध्दा मलाई आज अलि सन्चो भएन भन्नुभएछ । दाइले बालाई रिक्सामा राखेर डा. तारा पद साहकहाँ लैजानुभयो । प्रेसर बढेको रहेछ । डाक्टरले आवश्यक औषधी दिएर पठाए ।
बाले आफै चापाकल चलाएर नुहाउनुभयो । आफ्नो अधोवस्त्र, गन्जी, धोती र रुमाल आफैले पछारेर सुकाउनुभयो । यथा समयमा नुन कम राखेको दाल र दूधसँग भात खानुभयो ।
दाइ अफिसतिर लाग्नुभयो । संयोगले मेरा जेठा बाका जेठा छोरा रामप्रसाद त्यहीँ आएको बेला थियो । साढे दश बजेतिर बालाई सास फेर्न गाह्रो भएछ । दाइलाई अफिसमा फोन गरेर बोलाए । दाइ घर आइपुग्दा बालाई बाहिर सारिसकेका थिए । देश फरक भए तापनि बा पनि ७६ वर्षको उमेरमा आफ्ना पिताले प्राण त्याग गरेको इलाकामै दिवङ्गत हुनुभयो ।
आज बाको घर परित्यक्त झैँ खडा छ । परन्तु त्यो समय र देशको सीमा पार गरेर असीम भएको छ । बाका तमाम सन्तानहरू देश देशान्तरमा बा र बाको घरको याद गरिरहन्छन् ।