काठमाडौँ । लुम्बिनी प्रदेश सभाले यसअघि प्रदेश प्रमुखले सच्चाउन फिर्ता पठाएका दुई वटा विधेयक पुनः सर्वसम्मत पारित गरेको छ ।
बुधवारको बैठकले लुम्बिनी प्रदेश सभा नियमावली २०७९ को नियम १२८ को खण्ड ख बमोजिम पुनः सर्वसम्मत पारित भएको सभामुख तुलाराम घर्तीले घोषणा गरेका छन् ।
यसअघि प्रदेशसभाबाट सर्वसम्मत पारित भएको यी विधेयक प्रदेश प्रमुख कृष्णबहादुर घर्तीले फिर्ता गरेपछि टकराव बढेको थियो ।
प्रदेश प्रमुख घर्तीले प्रमाणीकरणका लागि आएका प्रदेश निजामती सेवा ऐन, २०८० लाई संशोधन गर्न बनेको विधेयक र स्थानीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक सन्देशसहित फिर्ता पठाएका थिए । यी दुवै विधेयक प्रदेश सभाको चौथो अधिवेशनले सर्वसम्मत पास गरेर प्रमाणीकरणका लागि प्रदेश प्रमुख समक्ष पेस गरिएको थियो । यी दुवै विधेयक प्रदेश प्रमुखले सन्देशसहित असोज २२ गते प्रदेश सभामा फिर्ता पठाएका थिए ।
बुधवारको बैठकमा मुख्यमन्त्री चेतनारायण आचार्यको प्रतिनिधिको रूपमा भौतिक पूर्वाधार विकास मन्त्री भूमिश्वर ढकालले दुवै विधेयक हुबहु पास गर्नका लागि पठाएको बताए । सभामा दुई वटा विधेयक छोटो बाटोबाट पारित गर्ने गरी उनैले प्रस्ताव पेस गरेका थिए ।







