Logo १ माघ २०८१, मंगलबार

प्रशासन एक्सक्लुसिभ :

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे   crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ? crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ? crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ? crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी  crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन  crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?  crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण
   

के वर्तमान नेपाली समाजको मूल्य, मान्यता र आदर्शमा ह्रास आएकै हो त ?


२६ कार्तिक २०८१, सोमबार


नेपाली समाजमा हालका वर्षमा सामाजिक संरचना, समाजका मूल्यमान्यता र आदर्शलाई हेर्ने दृष्टिकोणमा फेरबदल आइको भान हुन्छ । मुलुकमा कसैले कसैको विचारको सम्मान नगर्ने, एक आपसमा वितृष्णा जगाउने, राष्ट्र र राष्ट्रिय पहिचानलाई धुलो पिठो बनाउने कार्य वायुवेगमा भइरहेको छ । मुलुकमा पद्धति बसाउने भन्दा पनि जतिसक्दो चाँडो भत्काउने, तत्काल लाभ नभए अधैर्यता प्रदर्शन गर्दै विदेश पलायन हुने कुरामा सहमत हुने प्रवृत्ति बढ्दै छ । राजनीतिमा गैह्र राजनैतिक चरित्रको बोलवाल बढेको छ । युवापुस्ता उत्पादनशील उमेरमा विदेश जाने क्रम बढ्दो छ, कमजोर स्वास्थ्य र अन्य अप्राकृतिक वस्तुको बढ्दो प्रयोगका कारण बाँझोपन समेत बढ्न जाँदा जनसङ्ख्या घट्दो क्रममा रहेको देखिन्छ ।

त्यस्तैगरी हालका वर्षमा परिवार विघटन हुने क्रम बढ्न जाँदा बालबालिकाको स्वास्थ्य र पालनपोषणमा प्रत्यक्ष प्रभाव पर्न गएको छ, बालबालिकामा कुनै न कुनै प्रकारको अशक्तताको अवस्था बढ्दो छ । शिक्षित युवामा श्रमप्रतिको चर्को अनास्था र सिपको अभावमा कामको संसारबाट भाग्ने प्रवृत्ति बढ्न गएको देखिन्छ । देश भित्र काममा जोडिएका श्रमिकहरू पढेर होइन गर्दै सिक्दैको अवस्थामा रहेकाले काममा निखरता आउन नसक्दा कतिपय कामहरू भारतीय दक्ष कामदारलाई सुम्पिनु परेको अवस्था समेत विद्यमान छ । आज मानिसहरूमा म को हुँ, मेरो जिम्मेवारी के हो, मसँग के के सीपहरू छन्, मसँग को को जोडिएका छन् जस्ता कुराहरू खोज्ने रुचि हराएको छ । यस लेखमा मानिसलाई मानिसका रूपमा विकास गर्ने प्रमुख माध्यम शिक्षाको भूमिका, प्रयोग र वर्तमान नेपाली समाजमा शिक्षा उभिएको जगका बारेमा उल्लेख गर्ने प्रयास गरिएको छ ।


१. सही धारणा विकासका लागि आवश्यक पढाइ के हो र धारणा कसरी बन्छ ?
१. नेपालमा आजकाल धेरै मानिसहरु चित्र र थोरै शब्द भएका वाक्य मात्र हेर्छन् र तत्काल आफ्नो धारणा बनाइ हाल्छन् । उनीहरुमा लामो पुस्तक पढ्न त पढ्ने कुरा छाडौँ, एउटा लेख पनि पूरा पढ्ने फुर्सद हुँदैन, धैर्यता छैन वा रहरै लाग्दैन ।
२. कतिपय व्यक्तिले चिनेको लेखक प्रतिको आफ्नो आग्रहका आधारमा मात्र लेख वा विचार पढ्छन् ।
३. कतिपयले आफ्नो कामसँग जोडिएका विषय मात्र हेर्छन् भने अरु कुनै विषयवस्तुमा उनीहरुको ध्यान जाँदैन ।
४. कतिपयले फेसबुक, टिकटक, भिडियो, कार्टुन चित्र, प्रोमो र फिल्म हेरेर नयाँ विषयवस्तु प्रतिको आफ्नो धारणा बनाउँदछन् । अहिले धेरै नेपालीको हातमा मोबाइल छ जसले यस्ता सामग्री क्षणभरमा जताततै पुर्‍याएको छ ।
५. सिकाइको विश्वव्यापी ढाँचाले सिकाइ सामग्रीमा पाठकको रुची र अवस्था अनुसार विविधता दिनुपर्छ भनेता पनि नेपालमा पुस्तकमा आधारित सिकाइका पाठ्यसामग्रीको बजार ह्वात्तै घटेको देखिन्छ ।
६. कतिपयको धारणा ठूला पदमा बसेकाले भनेको वा लेखेको भएर सत्य भएको तर पढेका वा भोगेकाले भनेको कुरामा पत्यार नभएको हुन सक्छ ।
७. नेपालमा आजकाल मानिसको बिचार बनाउने श्रव्यदृष्य सामग्री कुनै बिचारमा आधारित नभएका तर दर्शक संख्या वढाएर पैसा कमाउने व्यवसायीहरु र विदेसमा बसेर नेपालमा परिवर्तन गर्न चाहने सिप र स्रोत भएका युवाहरुले रिसले चुर भएर यहाँको विद्यमान चित्र र चरित्रको वद्‍नाम गर्ने सामग्रीमा आधारित छन् ।
८. राष्ट्रियस्तरका पत्रिकाहरुले जागिरदारका रुपमा लेखक नियुक्ति गरेका छन्, जसले केहीदिनको अन्तरालमा लेख निकाली रहनुपर्छ । यस्ता लेखमा कुनै नविनता हुँदैन । अपरिचित लेखकका नयाँ विचार र विषयवस्तुलाई ख्याल गर्दैनन्, जुनकुरा आम पाठकमा पुग्नै सक्दैन ।
९. बजारमा आएका पुस्तकमा के विषय पस्किएको छ थाहा नभएपनि डिजीटल विधिबाट गरिने विज्ञापनले अचम्मै राम्रो पुस्तकका रुपमा चिनाउँदा पुस्तक विक्रि हुने तर पढेर प्रशंसा कमाएको भने थोरै छ ।
१०. कतिपय लेखकले आफूले लेखेको पुस्तकको महिमाको प्रायोजित चर्चा गराएर विक्री वढाउने प्रयास गरेको पनि भेटिएको छ ।
११. नेपाल सरकारमा दशकौँ भन्दा वढी काम गरेर मन्त्री, माननीय, न्याधिश, सचिव, मुख्य सचिव वा फेरी पनि संवैधानिक नियुक्ति लिएका व्यक्तिहरुका लेखहरु दिनहुँ जसो पत्रपत्रिकामा आउँछन् , जसले पदमा बस्दा ल्याएको सुधारात्मक परिवर्तन खोज्न अर्को अध्ययनको खाँचो छ, ती बिचार वहाँहरु स्वयंका हुन् वा लेख्न र वक्तव्य दिनका लागि मात्र तयार भएका होलान् प्रश्न उठ्ने गरेको छ ।
१२. अब नयाँ विषयवस्तु पाठकका माझ पुर्‍याउने हो भने विधागतरुपमा व्यक्तिको तत्कालको खाँचो पूरागर्ने गरी छोटो, चित्रात्मक र रङ्गिन प्रस्तुती पस्कने हो की ? विस्तारै विषयवस्तुमा रस पसेपछी मात्र पूरै लेख र पुस्तकमा इच्छा भएका पाठक आफैँ जालान् ।
१३. तर, एकजना कविले वर्तमान विकृतिको विरुद्धमा छोटो पद्यकलाका माध्यमबाट कलम चलाउनु भएकोमा पछिल्ला समयमा वहाँको कविता एकै व्यक्तिका विरुद्धमा र सँधै उएटै औजार – खुर्सानी मात्र प्रयोग गर्नु भएकोले पाठक घटेको मात्र नभइ आलोचना समेत भएको छ । लेखन र प्रस्तुतीकरणले पनि ‘प्रस्थान’ खोजेको प्रमाण फेला परेको छ ।

२. को मान्छे मन पर्छ ?
१. तपाईँ कुनै काममा उम्मेदवार छान्न बस्नु भएको छ भने कस्ता मान्छेलाई छान्नु हुन्छ ?
क. सार्वजनिक निकायमा उम्मेदवार छान्दा संज्ञानात्मक क्षमता भएको, कण्ठ गर्न सक्ने र तर्क दिन सक्ने मान्छलाई छान्नु हुन्छ जसले भोलि कार्यक्षेत्रमा कस्तो आइपर्ने समस्याको समाधान कसरी गर्छ थाहा हुँदैन ।
ख. निजी क्षेत्रले काममा कर्मचारी नियुक्ति गर्दा धेरै समय दिन सक्ने, सुविधा कम माग्ने, स्वस्थ र राज्यलाई ढाँटेर भए पनि कम्पनिलाई फाइदा गराउन सक्ने व्यक्ति खोज्दछ ।
ग. राष्ट्रिय र अन्तर्राष्ट्रिय गैरसरकारी निकायले कर्मचारी छान्दा सकेसम्म ३० वर्ष भित्रका युवा उमेरको लैङ्गिक र जातजातिगत मापदण्ड भित्रको व्यक्ति पहिलो लिष्ट भित्र परेपछी मात्र अंग्रेजी भाषामा बोल्न र लेख्न सक्ने तर आफ्नो बिचार कतै प्रतिविम्बित गर्न नपाउने सर्तमा छान्दछ ।
घ. सार्वजनिक शिक्षण संस्थामा उम्मेदवार छान्दा वि. सं. २०५० तिरको जस्तो राजनैतिक आशिर्वादको गुञ्जायस त छैन तर उपयुक्त संख्यामा विषयवस्तुमा पोख्त उम्मेदवार बजारमा पाउन छाडिएछ । त्यसैले पाए मध्येकाबाट जानकार छान्न वाध्य भएको अवस्था छ ।
२. तपाईँ कस्ता सामाजिक व्यक्तिलाई रोज्नुहुन्छ ?
क. आजकाल धेरैजसो नेपाली युवालाई समाज, राष्ट्र, राष्ट्रियता, राष्ट्रिय अखण्डता, सामाजिक मूल्य र मान्यताको केहि मतलव छैन । राज्य पनि बलियो हुनु पर्छ, कमाउनु पर्छ र त्यसको केही हिस्सा राज्यलाई पनि तिर्नु पर्छ भनेर कोही बोल्यो भने कसैको झोला बोकेको बिल्ला लगाइदिन्छ । राज्यले विधि बसाल्न कुनै काम गरोस् भन्ने चाहँदैन । समाज र सामाजिक पक्षका बारेमा बोल्ने मानिस खराबमा गणना भएको छ । नयाँपुस्तामा हाल उत्पन्न भएको जीवन दर्शनका अनुसार यो मुलुक आफैँ बनेको हो, यसमा कसैको कुनै केही देन छैन । सबै मानिस खान मात्र जन्मेका हुन् । पाको उमेरको व्यक्तिमा भएको अनुभवले केही लाभ दिँदैन । वढ्दो उमेरका मानिसको कुनै सोचबिचार हुँदैन । समाज निर्माणको सोच राख्ने मानिसहरु पाखण्ड हुन् । त्यसैले यहाँ कोही आदर्श छैन । कोही कसैका लागि जन्मेको छैन, परिवार संस्था होइन, विवाहमा कुनै नैतिक बन्धन छैन, बाबुआमा आफ्नै लागि जन्मेका हुन्, हरेक व्यक्तिले आफ्नो सुखका लागि जे सुकै गर्न पाउनु पर्छ, जतापनि जान र रमाउन पाउनु पर्छ भन्ने बिचारबाट प्रभावित उत्तरआधुनिक छाडावादको जमानामा नेपाली समाज प्रवेश गरेको छ । युरोपमा पहिलो र दोस्रो गरी उन्नाइसौँ शताव्धिभर भएको औद्योगिक क्रान्तिले मानवलाई सुखसयल र पैसामा रमाउन चरम उपभोक्तावादी बनाएकोले मानवतावादी दर्शनको खाँचो देखिएको थियो । यहाँ फेरी त्यही अवस्था आएको छ ।

ख. आजकाल नेपालका धेरै युवालाई नेपालका कोही पनि मन पर्दैन । नेपाल र नेपाली मन नपराएर विदेश प्रतिको आकर्षण वढेको छ । विदेश गएर पनि कसैलाई मन पराउने नभइ कसैले तयार पारिदिएको कम्पनिमा सुरूक्क रोजगारी पाउने र बनिबनाउ सुविधामा घण्टा घण्टामा पारीश्रामिकको हिसाव रहने हुँदा त्यता मन परेको हो । नेपालले अहिले नै विश्व बजारमा प्रतिस्पर्धा गर्न सक्दैन । सो नहुँदा सम्म यस समूहमा पर्ने युवा नेपालमा टिक्ने अवस्था छैन । नेपाल छाड्ने युवा बौद्धिक कामका लागि मात्र गएका होइनन् । श्रम र सजिलोपनको खोजिका लागि पनि गएका हुन् । यसैविच नेपालमा थोरै यस्ता युवा पनि छन् जो नेपालमै बसेर विदेशको नोकरी गर्छन् र नेपाललाई आयकर बुझाउँछन् ।

ग. नयाँ युवामा स्थिरता छैन । एकवर्ष पहिले कुनै एक व्यक्तिलाई आदर्श व्यक्ति मान्नुहुन्छ, एक वर्ष नपुग्दै तथानाम गालिगलौज गर्नु हुन्छ । आफूलाई के फाइदा कताबाट कुन बेलामा भएको छ, सोही आधारमा सामाजिक लेखाजोखा गर्नुहुन्छ ।

घ. राज्यको उच्चपदमा वा कुनै स्थापीत राजनैतिक दलको उच्च पदमा रहेर लामो समय काम गरेका व्यक्ति पनि आफ्ना सन्तान विदेशमा रमाएको देख्दा आजसम्म आफूले यो देशमा गरेको योगदान व्यर्थ रहेछ राम्रो त मुलुक छाडेर बाहिरिएको भए आज धेरै सुख पाउने रहेछु भनेर पश्चाताप गरेको उदाहरणबाट यो समूहका व्यक्तिले पनि समाजका पक्षमा उदाहरणीय व्यक्ति नदेखेको स्पस्ट हुन्छ ।

ङ. नेपाली समाजमा एउटा जमात विदेशीको प्रभावमा उदाउँदो अर्थतन्त्र भएको बंगलादेशमा नेतृत्वको सानो भूललाई पहाड देखी राष्ट्रलाई दशकौँ पछाडी पार्न उद्दत् अभ्यासलाई आदर्श ठान्दछ । श्रीलङ्कामा झैँ राष्ट्रपति निवासमा प्रवेश गरेर सरसामान बटुल्ने रहर पोखेको तथ्य फेसबुकबाट प्रकट गर्दछ ।

३. विधायिका के गर्दछन् ?
क. नेपालमा कानुन निर्माता कानुन निर्माण गर्दैनन् । कानुन निर्माण गर्ने पृष्ठभूमिका व्यक्तिलाई निर्वाचनमा जित्न मुस्किलै पर्छ । त्यसैले उनीहरु व्यवस्थापिकामा नसजाइएका कार्यपालिकाका सहायक उपमन्त्री सरहछन् । स्रोतसाधनको खोजी गरेर विकासे वजेटको जोहो गरी अनुत्पादक, टिकाउ नहुने र खाँचो नै नपरेको ठाउँमा वजेट छर्दै अर्को निर्वाचनमा आफैँलाई उभ्याउन अनवरत प्रयासरत छन् ।
ख. मुलुक नयाँ राजनैतिक प्रणालिमा प्रवेश गरेपछी सयौँ कानुन बन्नुपर्ने अवस्थामा दशक भित्र हातमा गन्न सकिने मात्र बन्नु यसको उदाहरण हो ।

४. सरकार सधै अस्थिर
क. नेपालको वर्तमान संविधानको पूर्ण पालना हुँदा कुनै दलले वहुमतको सरकार गठन गर्नै सक्दैन ।
ख. नेपालका राजनैतिक दलमा यस्तो बानी पर्यो कि कुनै दलहरु मिलेर बहुमत पुर्‍याइ नयाँ सरकार गठन गरे पनि सडकमा धेरै दल छुट्ने नै भए । सत्तासुखको मोहका कारण सरकार ढाल्ने खेलमा रंगशाला सँधै भरिभराउ भयो ।
ग. सरकारमा पुगेका व्यक्ति सुधार कार्यमा जानुको सट्टा जागिरे बन्दै गएको पाइयो ।

५. सरकारी स्थायी संयन्त्र के गर्दैछ ?
क. राजनीतिक अस्थिरतामा स्थायी संयन्त्रलाई मिठो निद्रा लाग्दछ । केही गर्नु पर्दैन । दलगत झण्डा पनि बोकेकै छ । मन नपरेका दलले सरकार बनाए भने निश्कृय बस्ने र मनपरेकाले बनाए भने के के गर्दा व्यक्तिगत फाइदा हुन्छ हेर्दै जाने र साना पदमा बसेकाले हाजीर गरी तलव खाने दिनचर्या नै बनेको छ ।
ख. गैरसरकारी क्षेत्र सरकार कमजोर भएको हेर्न चाहन्छ । जहाँ सरकार कमजोर हुन्छ त्यहाँ गैरसरकारी पक्षको काम आउँछ । कतिपय अवस्थामा आफ्ना कामको पुष्टि गर्न सरकारी संयन्त्रको चतुर्‍याईपूर्वक उपयोग गर्दछ । आजकाल नेपालमा सरकार कमजोर भएका कारण यो क्षेत्रका कतिपय संस्था आफैँ नीति निर्माण र कार्यक्रम बनाउँदै आफ्नै संरचना मार्फत सरकारसँग बेखबर तल्लो तहमा पुगी सूचना संकलन गर्दैछ । युवालाई मन्द विषपान गराउँदैछ ।

६. दुर्भाग्यपूर्ण राष्ट्रिय सहमतिको विन्दु
क. राज्यका सबै तहमा कार्यरत व्यक्ति, राजनैतिक पदाधिकारी व्यवसायी र आम अभिभावकहरुको साझा इच्छा चाहीँ आफ्ना सन्तानलाई विदेश पठाउनु नै हुन पुगेकोछ ।
ख. आफू सत्तामा पुग्नका लागि जै पनि गर्नु र आफू सत्तामा पुग्दा मात्र राम्रो काम हुने अरुले गरेको काम सबै नराम्रो हुने मान्यतामा सबै पक्षको मतैक्यता छ ।

७. समस्याको जड
क. सबै समस्याको जड भनेको शिक्षामा पोषणको कमी हो । शिक्षामा पोषण भनेको विचार वा गन्तव्यसहितको शिक्षा हो । विश्वका धेरै देशले राज्य संकटमापरेका बेला शिक्षा मार्फत् समाधान खोजे । आजको दुनियाँमा कितावी शिक्षाले मात्र व्यक्ति र सामाजिक समस्याको समाधान गर्दैन । शिक्षामा प्रविधिको प्रयोगले उत्पादनमा सहयोग पुर्‍याउँछ । शिक्षाले नै राज्य, समाज, परिवार र व्यक्तिको महत्व चिनाउँछ । अमेरिकामा प्रगतिवादी शिक्षासँगै राष्ट्रिवादी, मानवतावादी सहितको सुझपूर्ण शैक्षिक दृष्टिकोणले संसारभरका विद्यार्थी तान्ने काम गर्‍यो । युरोपमा आदर्शवादी शिक्षा पुःन लोकप्रिय बन्दैछ । बेलायतमा संरक्षणवादी शिक्षाले आफ्ना जनशक्तिलाई उत्पादनशिल बनाएको छ । नेपालको हालको विद्यालय तहको पाठ्यक्रमले निर्माणवादलाई पछ्याउने रहर गरेको छ तथापी यसका प्रयोगकर्तामा यसको आशय पुर्‍याउन सकेको छैन । शिक्षाको सही प्रयोगले हाम्रो नीतिलाई सच्याउँछ । अभ्यासलाई सार्थक बनाउँछ । विदेश गएकालाई पनि नेपाल फर्काउँछ । नेपालको उत्पादनसँग जोडिएर विदेशी कामदार पनि भित्र्याउँछ ।

ख. नेपालको संविधानले दृष्टिकोण बोकेको छ तर त्यसको राजनैतिक कार्यान्वयन कमजोर छ । वर्तमान नेपालमा राजनैतिक शक्ति कमजोर बैचारिक धरातलमा उभिएका छन् । बिचारबाट जन्मेका शक्तिले आफ्नो धरातल बिर्सेका देखिन्छन् । राजनैतिक खेमाको बिरुद्धमा रहेका विद्रोही युवाको मूल चरित्र अरुको कामको निन्दा गरी सस्तो लोकप्रियता कमाउनु बनेको छ । यस समूह समाजमा चरम निराशा प्रकट गराइ सामाजिक मूल्य र मान्यताको ध्वंस गरी विदेश भाग्नुमा मख्ख छ । त्यस्तै सरकारी स्थायी संयन्त्रसँग पनि कुनै सोच बिचार आदर्श केही पनि छैन । आफू को हो, आफ्नो प्रमुख काम के हो, कसकालागि आफ्नो सेवा प्राथमिकतामा पर्छ जस्ता कुरामा स्थायी संयन्त्र बेखबर भइ आत्मकेन्द्रित प्रवृत्तिमा रुमलिएको छ । यस अवस्थामा भौतिक विज्ञानले भने झैँ यो शक्ति जती उफ्रिएपनि दूरी पार नगरेका कारण जहाँको तहीँ रहन्छ । सरकारका १०० दिनका मात्र होइन पाँच वर्षको उपलब्धि पनि यही शक्तिको कामको गतिका कारण कहीँ पुग्दैन ।

ग. संसारमा विकास भएका कुनै न कुनै बिचारका राम्रा र खराब पक्ष अवश्य छन् तथापी कुनै पनि बिचार विना मुलुकका कार्यक्रमलाई अगाडी वढाउन खोज्दा न हाँसको चाल न कुखुराको चाल जस्तो भइ जहाँको तहीँ बस्छ । कुनै पनि दृष्टिकोणका राम्रा पक्षलाई अँगालेर राज्यपद्धतिमा गतिशिलता दिन सकिन्छ । पछिल्लो समाजले पालन नगरेता पनि पञ्चायतकालमा पनि मिश्रीत पद्धतीसहितको एउटा बिचारले काम गरेको थियो । आधुनिकतावाद र उत्तरआधुनिकतावादको प्रवाहसँगै शिक्षामा राज्यले लिएको बिचारले युरोप, अमेरिकालाई सुधार्‍यो । एशियामा उचित शैक्षिक नीति कै कारण चिन, जापान, कोरिया, ताइवान जस्ता मुलुकहरुले कायापलट गरे । उच्च शिक्षामा कुनै बिचारको प्रधानता नगरिए पनि विद्यालय शिक्षाको पाठ्यक्रम निर्माण गर्दा छलफल भएको हो । साना कक्षाका पाठ्यक्रममा दृष्टिकोण प्रतिविम्वित हुन्छ तर माध्यमिक तहमा यसको प्रयोग कमजोर हुनाका कारणले युवामा शुन्यपन हावी हुन पुगी अराजकताको अवस्था उत्पन्न भयो ।

८. र, अन्त्यमा
माथी शुरुवातमा उल्लेख गरिएझैँ यो लेख पनि मलाई चिनेका वा नचिनेका वा मेरो विषयवस्तुसँग चासो भए नभएका कारणले कसैले पढ्छन् भन्ने भ्रमबाट टाढा भएरै लेखिएको छ । यसको मुल आशय समकालिन समाजमा उत्पन्न विचारलाई प्रकाशन गृहले स्थान किन नदिने भन्ने प्रश्न र मेरो उत्पादनमुखी विचारलाई इतिहासको कुनै मोडमा विद्वत्‍वर्ग सामु प्रयोगमा ल्याउनका लागि संग्रहित गर्न लेखिएको हो ।

Tags :
प्रतिक्रिया दिनुहोस