काठमाडौँ । साफ वुमन्स च्याम्पियनसिप २०१४ को उपाधिका लागि अहिले नेपालले बांङ्लादेशसँग खेलिरहेको छ । दशरथ रंगशालामा पहिलो हाफको खेल सकिँदा दुवै टोलीले गोल गर्न सकेका छैनन् ।
दुवै टोलीले गोल गर्ने केही अब पाए पनि सदुपयोग गर्न सकेनन् । दुवै टोलीको एक एक प्रहार बारमा लागेको थियो । पहिलो हाफको सुरुवाती केही मिनेटपछि नै नेपालले खेलमा दबाब बनाएको थियो । दोस्रो मिनेटमै नेपालको गल्तीमा बांङ्लादेशले राम्रो अवसर पायो ।
गोलपोष्टबाट बल चलाउने बेला गीता राना बल हान्ने बेला चिप्लिएपछि बांङ्लादेशकी तोहुरा खातुनले वान भर्सेस वानको अवस्थामा हानेको प्रहार बारमा लागेर फर्कँदा नेपाल भाग्यमानी बनेको थियो ।
रिबाउण्डमा तोहुराले नै हानेको बल गोलकिपर एन्जिलाले क्याच गरिन् ।
नेपालका लागि अमिसाले गोल गर्ने अवसर पाएकी थिइन्, तर फिनिसिङमा चुकिन् । १९ औँ मिनेटमा नेपालकी अमिसा कार्कीले बकस बाहिरबाट हानेको शक्तिशाली पहार बारमा लागेर फर्किँदा नेपालले अग्रता लिने अवसर गुमाएको थियो । ३३ औँ मिनेटमा बंगलादेशले बकस नजिकै फ्रिकिक पाएको थियो । तर मोनिका चक्माको प्रहार पोस्टभन्दा बाहिर गयो ।







