काठमाडौँ । गृह मन्त्री रमेश लेखकले मोबाइल फोनको दोस्रो कारोबार (सेकेन्ड ह्यान्ड बिक्री) लाई व्यवस्थित गर्न आवश्यक रहेको बताएका छन् ।
नेपाल मोबाइल व्यवसायी महासंघले सेकेन्ड ह्यान्ड मोबाइलको कारोबार वैध नहुँदा किनबेचमा समस्या भएको र मोबाइल मर्मतका क्रममा समेत प्रहरी प्रशासनबाट झमेला बेहोर्नु परेको भन्दै शुक्रबार गृहमन्त्री लेखकलाई चार बुँदे ज्ञापन पत्र बुझाएका हुन् ।
सो क्रममा गृहमन्त्री लेखकले सेकेन्ड ह्यान्ड फोनको बिक्री वितरण व्यवस्थित गर्न आवश्यक सहयोग हुने बताए ।
गृह मन्त्रालयमा गृह मन्त्री लेखकलाई ज्ञापन पत्र बुझाउँदै व्यवसायीलाई अनावश्यक झमेलाबाट मुक्त गर्ने गरी नीति बनाइदिन आग्रह गरिएको महासंघका अध्यक्ष भरत भट्टराईले जानकारी दिए ।
अध्यक्ष भट्टराईले मोबाइल लक अनलक तथा मर्मतका क्रममा प्रहरी प्रशासनबाट व्यवसायीहरूले अनावश्यक झमेला व्यहोर्दै आएको र व्यवसायीहरू बिना कारण प्रहरीको निशानामा पर्ने गरेको गुनासो गरे ।
गृह मन्त्रीसँगको भेटका क्रममा महासंघले सेकेन्ड ह्यान्ड मोबाइलको वैधानिक कारोबारका लागि सरकारलाई आवश्यक नीति बनाउन सुझाएको उपाध्यक्ष रमेश घिमिरेले जानकारी दिए ।
हाल अवैध रूपमा सेकेन्ड ह्यान्ड मोबाइलको कारोबार भइरहेको भन्दै महासंघले सरकारलाई निश्चित रकम राजस्व खातामा जम्मा हुने गरी सेकेन्ड ह्यान्ड कारोबारलाई वैध बनाउँदा देशको राजस्वमा ठूलो रकम जम्मा हुने र त्यसले केही रकम भए पनि देशबाट बाहिर जान रोकिने महासचिव सन्तोष घिमिरेले जानकारी दिए ।
यसैगरी महासंघले मोबाइल बिक्री मार्फत व्यवसायीहरूले प्राप्त गर्ने मार्जिन अत्यन्त न्यून रहेको भन्दै सरकारले व्यवसाय र व्यवसायी दुवैलाई जोगाउन समयानुकूल मार्जिन निर्धारण गर्नु पर्ने बताएको छ ।