काठमाडौँ । सरकारसँग कोरोना बीमाको रकम माग गर्दै निर्जीवन बिमा कम्पनीको छाता संगठन नेपाल बिमक संघले दायर गरेको रिटमा सर्वोच्च अदालतले कारण देखाउ आदेश जारी गरेको छ ।
सोमबारको पेशीमा अदालतले अग्राधिकारसहित कारण देखाउ आदेश दिएको नेपाल बिमक संघले जनाएको छ ।
सर्वोच्च अदालतका अनुसार नेपाल बीमक संघको तर्फबाट अख्तियार प्राप्त महासचिव अशोककुमार खड्कासमेत १३ जनाले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयसमेत ४ निकायलाई विपक्षी बनाएको रिटमा न्यायाधीश अब्दुल अजीज मुसलमानको इजलासले कारण देखाउ आदेश जारी गरेको हो ।
विपक्षीहरूलाई १५ दिनभित्र कारणसहितको लिखित जवाफ पेस गर्न आदेश भएको छ । माग बमोजिम आदेश जारी हुनुपर्ने हो वा होइन भन्ने जवाफ सरकारसँग माग भएको र नहुनुपर्ने भए आधार र कारण लिखित रूपमा पेस गर्न सर्वोच्चले सरकारलाई भनेको हो ।
बीमाजस्तो गम्भीर विषय भएकाले रिट निवेदनलाई अग्राधिकार दिएको हो । विपक्षीहरूका तर्फबाट लिखित जवाफ पेस भएपछि अर्को पेसी तय हुनेछ । सरकारसँग कोरोना बिमाको रकम माग गर्दै बिमा कम्पनीहरूले आइतबार सरकारविरुद्ध सर्वोच्च अदालतमा रिट दायर गरेका थिए ।