काठमाडौँ। कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलले पूर्वाधार सुनिश्चित गरेर मात्र दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको मिति तोक्न संघीय सरकारलाई आग्रह गरेका छन् ।
संघीय सरकार युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरीसँग बुधवार प्रतियोगिताबारे वीरेन्द्रनगरमा छलफल गर्दै मुख्यमन्त्री कँडेलले हतारमा मिति घोषणा नगर्न आग्रह गरेका हुन् । उनले पूर्वाधारका काम समयमै सम्पन्न हुने सुनिश्चित भएपछि मात्रै प्रतियोगिताको मिति घोषणा गर्दा उपयुक्त हुने बताए ।
कर्णाली प्रदेशमा हुन लागेको दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिता आगामी मंसिर १२ हुने भन्दै एक सय दिनको काउन्डाउन नै सुरु गरिएको छ । तर मुख्यमन्त्री कँडेलले भने यति दिन भनेर काउनडाउन नगर्न समेत कर्णाली खेलकुद परिषद्लाई निर्देशन दिएका छन् ।
कर्णाली प्रदेशले भौतिक पूर्वाधारमा उल्लेख्य लगानी गरिसकेको बताउँदै मुख्यमन्त्री कँडेलले खेलकुद प्रतियोगितालाई भव्य र सभ्य रूपमा सम्पन्न गर्न प्रदेश सरकारका तर्फबाट सक्दो प्रयास रहने बताए ।
यस अघिका राष्ट्रिय खेलकुद प्रतियोगिताहरूमा संघीय र प्रदेश सरकारबिच जिम्मेवारीको विषयमा कतिपय अन्योल रहेको चर्चा गर्दे मुख्यमन्त्री कँडेलले यस पटक त्यसो हुन नदिन पहिले नै प्रतियोगिताको जिम्मेवारी बाँडफाँडमा समेत प्रस्ट हुनुपर्ने बताएका छन् ।
युवा तथा खेलकुद मन्त्री चौधरीले भने कर्णाली सरकारले खेलकुद क्षेत्रमा गरेको भौतिक प्रगतिको काम प्रशंसा योग्य भएको बताए ।
उनले भौतिक पूर्वाधार सुनिश्चित भएपछि मात्र प्रतियोगिताको मितिबारे छलफल गरिने समेत धारणा राखेका थिए । प्रतियोगिताको कामको जिम्मेवारीको सन्दर्भमा मन्त्रालयले केही दिनभित्रै निर्देशिका बनाउने मन्त्री चौधरीले बताए ।
अहिलेसम्म भौतिक निर्माणमा कर्णाली प्रदेश सरकारलाई रकम उपलब्ध गराउन नसकेको बताउँदै मन्त्री चौधरीले आफूले त्यसतर्फ संघीय सरकारको ध्यानाकर्षण गराउने बताए ।