काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीसँग नेपालका लागि संयुक्त राष्ट्रसंघका आवासीय प्रतिनिधि हाना सिंगर हम्दीले आज सिंहदरवारमा शिष्टाचार गरेकी छिन् ।
सो अवसरमा प्रधानमन्त्री ओलीले अन्तर्राष्ट्रिय प्रतिबद्धता र घोषणाप्रति प्रतिबद्धता जनाउँदै नेपालको राष्ट्रिय आकांका रूपमा रहेको ‘समृद्ध नेपाल, सुखी नेपाली’लाई सार्थक बनाउन राष्ट्रसंघको सहयोगको अपेक्षा व्यक्त गरे।
नेपालको समृद्धि, सुशासन, विकास र स्थिरताका लागि मुलुकका दुई ठुला दलको सहकार्यमा नयाँ सरकार गठन भएको जानकारी गराउँदै प्रधानमन्त्री ओलीले सङ्क्रमणकालीन न्यायसम्बन्धी कानुनलाई राजनीतिक सहमतिका आधारमा टुङ्ग्याउने तयारी भएको र यस्ता सवालमा राष्ट्रसंघको सदैव सहयोगको अपेक्षा व्यक्त गरे ।
आवासीय प्रतिनिधि सिङ्गरले नेपालका विकास र समृद्धिका क्षेत्रमा राष्ट्रसंघको निरन्तर साथ रहने विश्वास दिलाए । राष्ट्रसंघले नेपालको गरिबी निवारण, ऊर्जा, स्वास्थ्य, विपद् जोखिम न्यूनीकरण र अन्य सामाजिक क्षेत्रमा सहयोग गर्दै आएको छ ।
नेपालले अन्तर्राष्ट्रिय शान्ति र सुरक्षाका लागि राष्ट्रसंघीयय नीति बमोजिम शान्ति सेनामार्फत योगदान गर्दै आएको छ ।