काठमाडौँ । नवनियुक्त श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीले पदभार ग्रहण गरेका छन् ।
पदभार ग्रहणका क्रममा सञ्चारकर्मीसँग कुरा गर्दै मन्त्री भण्डारीले अघिल्लो कार्यकालमा वैदेशिक रोजगारका क्षेत्रमा थालेका सुधारका अभियानलाई निरन्तरता दिने बताएका छन् । ‘वैदेशिक रोजगारीलाई व्यवस्थित, मर्यादित बनाउन र यस क्षेत्रका विकृति–विसङ्गति हटाउन मैले अघिल्लो कार्यकालमा सुरु गरेका नीतिगत प्रयासहरूलाई निरन्तरता दिनेछु’, उनले भने ।
मन्त्री भण्डारीले देशभित्र रोजगारको सुनिश्चितता गर्दै वैदेशिक रोजगारको बाध्यता अन्त्य गर्ने प्रतिबद्धता व्यक्त गरे । प्रत्येक पालिकाअन्तर्गतका रोजगार सेवा केन्द्रलाई ‘रोजगार हब’ बनाउनमा जोड दिने उनको भनाइ छ । ‘अहिले जुन स्थितिमा यो सरकार आएको छ, चुनौतीहरू छन् । यस अवस्थामा हामीले कुनै किसिमका नाटक र स्टन्ट गर्ने छुट छैन’, उनले भने, ’हामीले इमानदारिता र अध्ययन नगरी, प्रतिफल दिन नसक्ने काम गर्यौँ भने त्यो हाम्रो असफलता हुन्छ ।’
महोत्तरी– २ बाट प्रतिनिधिसभा सदस्यमा प्रत्यक्ष निर्वाचित भएका भण्डारी योसँगै १३औँ पटक मन्त्री बनेका हुन् । राष्ट्रपति कार्यालयमा राष्ट्रपति रामचन्द्र पौडेलद्वारा आज पद तथा गोपनीयताको शपथ ग्रहण गरे लगत्तै मन्त्रालय पुगेर उनले पदभार ग्रहण गरेका थिए । यसअघि २०७९ चैत १२ मा उनी श्रममन्त्री नियुक्त भएका थिए ।
पञ्चायतदेखि गणतन्त्रसम्म दल बदल्दै मन्त्री बन्दै
लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का नेता ६९ वर्षीय शरतसिंह भण्डारी पञ्चायतदेखि गणतन्त्रसम्म आइपुग्दा १३औँ पटक मन्त्री बनेका छन् ।
२०३८ र ०४३ सालमा राष्ट्रिय पञ्चायत सदस्यमा निर्वाचित भण्डारी त्यसयताका कुनै पनि निर्वाचनमा एउटै दलबाट उठेका छैनन् । जति पटक चुनाव जितेका छन् उनले लगभग त्यति नै पटक दल बदलेका छन् र मन्त्री पनि बनिरहेका छन् ।
भण्डारीले मन्त्री पदको पहिलो खाता २०४४ फागुनमा खोलेका थिए । पञ्चायत व्यवस्थाका अन्तिम प्रधानमन्त्री मरिचमान सिंह श्रेष्ठले मन्त्रिमण्डल पुनर्गठन गर्दा भण्डारी पञ्चायत तथा स्थानीय विकास सहायक मन्त्री बनेका थिए । त्यसको एक वर्षपछि २०४५ कात्तिकमा उनी वाणिज्य राज्यमन्त्रीमा बढुवा भए ।
२०५२ मंसिरमा भण्डारी बिना विभागीय राज्यमन्त्री बने । २०५३ पुस २४ गते उनी बिनाविभागीय मन्त्रीमा बढुवा भए । २०५४ असोजमा भण्डारी युवा, खेलकुद तथा संस्कृति मन्त्री बने ।
२०५६ जेठमा भण्डारी पुनः युवा, खेलकुद तथा संस्कृति मन्त्रीमा नियुक्त हुन पुगे । २०५६ फागुनमा मन्त्रिपरिषद् पुनर्गठन हुँदा उनको विभाग फेरियो र स्वास्थ्य मन्त्री बने । २०५८ साउनमा फेरि उनी स्वास्थ्य मन्त्री बने ।
२०६६ जेठमा गठित मन्त्रिपरिषद्मा उनी पर्यटन तथा नागरिक उड्डयन मन्त्री बन्न सफल भए । २०६८ भदौमा गठित मन्त्रिपरिषद्मा भण्डारी रक्षामन्त्री बने । २०७८ जेठ २१ मा मन्त्रिपरिषद् पुनर्गठन हुँदा भण्डारीले ऊर्जा मन्त्रालयको जिम्मेवारी पाए । पछिल्लो पटक उनी २०७९ साल चैतमा श्रम तथा सामाजिक सुरक्षा मन्त्री बनेका थिए ।
२०३२ सालमा नेपाल विद्यार्थी संघबाट राजनीतिमा प्रवेश गरेका भण्डारी पञ्चायत व्यवस्थाबाट प्रत्यक्ष राजनीतिमा प्रवेश गरेका हुन् । त्यसयता भण्डारी नेपाली काँग्रेस र मधेसवादी दलका विभिन्न खेमामा प्रवेश गर्दै पटक–पटक चुनाव जित्न र मन्त्री बन्न सफल भएका छन् ।