काठमाडौँ । महोत्तरीको जलेश्वर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत, नगर प्रमुख र उपप्रमुखले मुद्दामा सफाइ पाएपछि आइतबारदेखि पुनः कार्यभार सम्हालेका छन् ।
आर्थिक अनियमितताको आरोप लागेपछि निलम्बनमा परेका प्रमुख प्रशासकीय अधिकृत मित्रलाल ढकाल, प्रमुख सुरेश साह सोनार र उपप्रमुख रौशन खातुनले मुद्दामा सफाइ पाएपछि आइतबारदेखि पुनः कार्यभार सम्हालेका हुन् ।
उनीहरूसँगै वडा नं १ का वडाध्यक्ष अनिलकुमार झा, कार्यपालिका सदस्य सोगरा खातुन, तत्कालीन र अधिकृत धिरेन्द्र झाले पनि सफाइ पाएपछि आइतबार नै कार्यालय गएर कार्यभार सम्हालेका छन् ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गत वैशाख २७ गते जलेश्वर नगरपालिकाका प्रमुख, उपप्रमुखसहित १२ जनामाथि विशेष अदालतमा भ्रष्टाचार कसुरमा विशेष अदालतमा मुद्दा दायर गरेको थियो ।
असार २६ गते विशेष अदालतले १२ जनामध्ये मेयर, उपमेयर, तत्कालीन प्रमुख कार्यकारी अधिकृत र अधिकृत गरी चार जनाले सफाइ पाएका हुन् ।
विशेष अदालतले जलेश्वर नगरपालिकाका वरिष्ठ इन्जिनियर पवनकुमार झा, इन्जिनियर राकेशकुमार चौधरी र सबइन्जिनियर दिपेशकुमार साहलाई कैद तथा जरिवाना तोकेको छ भने उपभोक्ता समितिका अध्यक्ष राकेशकुमार साह, सचिव सिकेन्द्र चौधरी र कोषाध्यक्ष सन्तोषी देवीलाई जरिवाना तोकेको छ ।
आर्थिक वर्ष २०७९र८० मा वडा नं १ को बरुण सरोवर पोखरीको दक्षिण र पश्चिम डिलमा रहेको हाट बजारमा बाटो ढलान कार्यमा भ्रष्टाचार भएको दाबीसहित अख्तियारले मुद्दा चलाएपछि उनीहरू निलम्बनमा परेका थिए ।







