काठमाडौँ । अबदेखि कक्षा १२ को परीक्षा दिएर बसेका विद्यार्थी पनि चिकित्सा शिक्षातर्फ स्नातक तहको एकीकृत प्रवेश परीक्षामा सहभागी हुन पाउने भएका छन् ।
चिकित्सा शिक्षा आयोगले कक्षा १२ को परीक्षा दिएर बसेका विद्यार्थीलाई स्नातक तहको एकीकृत प्रवेश परीक्षामा सहभागी हुन पाउने व्यवस्था गरेको हो । यसअघि चिकित्सा शिक्षाको प्रवेश परीक्षामा सहभागी हुन १२ कक्षा उत्तीर्ण हुनुपर्थ्यो । आयोगले नियमित विद्यार्थीको सुविधाका लागि विशेष व्यवस्था गरिएको जानकारी गराएको हो ।
एकीकृत प्रवेश परीक्षाका लागि आयोगले आवेदन खुलाइसकेको छ । सो परीक्षाका लागि गत वैशाखमा १२ कक्षाको परीक्षा दिएका विज्ञान विषयका विद्यार्थीले १२ कक्षाको प्रवेश पत्रका आधारमा आवेदन दिन सक्ने छन् ।
तर परीक्षाको नतिजा आउने बेलामा आयोगले चिकित्सा शिक्षा एकीकृत प्रवेश परीक्षा तथा विद्यार्थी भर्ना सम्बन्धी कार्यविधि (पहिलो संशोधन) २०७० को दफा ७ बमोजिमको योग्यता पुगेका उम्मेदवारलाई मात्रै समावेश गरी नतिजा प्रकाशित गर्ने स्पष्ट पारेको छ ।
एमबीबीएस, बीडीएस, बीएस्सी नर्सिङ, फार्मेसीलगायत चिकित्सा शिक्षातर्फको स्नातक तहका विभिन्न विषयमा भर्ना हुन कक्षा १२ मा फिजिक्स, केमेस्ट्री, बायोलोजीलगायतका विषयमा अध्ययन गरेको हुनुपर्ने छ । उक्त विषयमा कम्तीमा ५० प्रतिशत वा २.४ जीपीए प्राप्त गरी उत्तीर्ण गरेको हुनुपर्ने छ ।
आयोगले अघिल्लो वर्ष एमबीबीएसमा १ हजार ९२० सिट छुट्याएको थियो । आयोगले स्नातक तहको एकीकृत प्रवेश परीक्षा आगामी १ भदौदेखि ५ भदौसम्म तोकेको छ ।