बालश्रम विरुद्धको विश्व दिवस « प्रशासन
Logo ४ श्रावण २०८१, शुक्रबार

प्रशासन एक्सक्लुसिभ :

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे   crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ? crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ? crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ? crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी  crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन  crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?  crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण
   

बालश्रम विरुद्धको विश्व दिवस


२९ जेष्ठ २०८१, मंगलबार


मानिसहरू आमाको गर्भबाट धर्तीमा अवतरण गरेपश्चात् वयस्क नहुँदासम्म बालबालिकाहरूको रूपमा रहेका हुन्छन् । यो मानवीय विकासको महत्त्वपूर्ण समय हो । आजका बालबालिकाहरू कस्ता छन् भोलीको समाज त्यस्तै बन्ने हो । बालबालिकाहरूलाई कहिलेबाट कामकाजमा लगाउने, काममा पनि आयआर्जन हुने काममा लगाउने वा लाग्ने कुरा बाल श्रमसँग जोडिएको हुन्छ ।

विश्वव्यापिरुपमा बालबालिका भन्नाले सामान्यतया जन्मदेखि १८ वर्षसम्मको उमेरका बालबालिकाहरूलाई बुझिन्छ । वयस्क नभएसम्म  बालबालिकाहरूलाई श्रमिकको रूपमा काममा लगाउनु हुँदैन भनिएको छ । तर विश्वमा नै बाल श्रमिकको अवस्था भयावह रूपमा रहेको छ । यो वा त्यो नाममा बालबालिकाहरूलाई श्रममा लगाउने प्रचलन कायम रहेको छ ।

सहरमा पढाइदिने लोभमा कति बालबालिकाहरूलाई अर्काका बालबालिका बृद्धवृद्धाहरुको स्याहार सुसार गर्न बालबालिकाहरूलाई काममा लगाएको देखिन्छ । गाउँ गाउँमा भने आमाबाबुले आफ्नै दैनन्दिन आवश्यकता परिपूर्तिको लागि आफ्नै बालबालिकाहरूलाई काममा लगाएको अवस्था छ । ठुला मान्छेहरू स-साना काममा जान दुःख लागेर साना बालबालिकाहरूलाई काममा पठाउने गरेको देखिन्छ । खास गरी इँटा भट्टा, कवाड सङ्कलन, सडक तथा हाटबजार व्यापार, होटेल, समाज सेन्टर लगायतका ठाउँमा र घरायसी सरसफाइको काममा बालबालिकाहरूलाई श्रमिकको रूपमा काममा लगाउने चलन व्यापक रहेको छ ।

नेपालमा १६ वर्षको उमेरमा नेपाली नागरिकताको प्रमाणपत्र प्रदान गरिन्छ । नागरिकता प्राप्त गरिसके पश्चात् उसलाई वयस्क मानिन्छ ।निर्वाचन आयोगले १८ वर्षको उमेर पुरा गरिसकेपछिमात्र मतदानको अधिकार प्रदान गरेको छ । लोकसेवा आयोग, शिक्षक सेवा आयोग र अन्य यस्तै ‌औपचारिक क्षेत्रमा रोजगारी प्रदान गर्ने सेवा प्रदायकले पनि १८ वर्षको उमेर पुरा गरे पछि मात्र औपचारिक श्रम बजारमा प्रवेश गर्न पाउने व्यवस्था गरेका छन् । यसै आधारबाट भन्न सकिन्छ औपचारिक श्रमिक हुन पाउने उमेर हद १८ वर्ष हो ।

बाल श्रम निषेध र नियमित गर्ने एन २०५६ ले कसैले पनि चौध वर्ष उमेर पूरा नगरेका बालकलाई श्रमिकको रूपमा काममा लगाउनु हुँदैन भनेको छ । कुनै प्रतिष्ठानले बालकलाई काममा लगाउनु परेमा सम्बन्धित श्रमिकको बाबु आमा वा श्रमिकको स्वीकृति लिनु पर्ने व्यवस्था गरेको छ । श्रममा लगाउनु परेमा काम गर्ने समय बालकलाई काममा लगाउँदा दिनमा छ घण्टा र एक सप्ताहमा छत्तिस घण्टा भन्दा बढी काममा लगाउनु हुँदैन भनेको छ ।

बालश्रम विरुद्धको अन्तराष्ट्रिय श्रम सङ्गठनको महासन्धी र आइ.एल.ओ.का सबै मूलभूत महासन्धिको विश्वव्यापी अनुमोदनले बालश्रम उन्मुलनका लागि प्रभावकारी प्रगतिको सुनिश्चितता गर्नु पर्दछ भनेको छ । यसले बालश्रम विरुद्ध विश्व व्यापी अभियान निर्माण गर्ने कार्य गरेको छ । आइ.एल.ओ.को न्यूनतम उमेर सम्बन्धी महासन्धी १९७३ अनुसार सदस्य राष्ट्रले कुनै पनि व्यक्तिको रोजगारीमा संलग्न हुन पाउने न्यूनतम उमेर अनिवार्य शिक्षा समाप्त गर्ने उमेर भन्दा कम हुन नहुने गरी कानुनमा निर्दिष्ट गर्नुपर्ने छ र सो उमेर कुनै पनि अवस्थामा १ वर्ष भन्दा कम हुनु हुँदैन । तर अर्थतन्त्र र शैक्षिक सुविधा प्रयाप्त रूपमा विकास भई नसेको सदस्य राष्ट्रले निश्चित सर्त पालना गरेर मात्र रोजगारीमा संलग्न हुन पाउने न्यूनतम उमेर १४ वर्ष तोक्न सक्नेछन् ।

निकृष्ट प्रकारको बालश्रम विरुद्ध आइ.एल.ओ. महासन्धी १९९९ को १८२ नं. ले निकृष्ट प्रकारका बालश्रमलाई प्रतिबन्धित गर्ने सुनिश्चितताका लागि तत्कालीन र प्रभावकारी उपायलाई अत्यन्त जरुरी विषयको रूपमा अपनाउन आव्हान गरेको छ । निकृष्ट प्रकारका बालश्रममा

Ø सबै किसिमका दासत्व वा दासत्व समान व्यवहारका सबै स्वरूपहरू जस्तै बालबालिका ओसारपसार र बेचबिखन ऋण बधुवा र बाँधा प्रथा साथै सशस्त्र द्वन्द्वमा प्रयोगका लागि बालबालिकाको बालजफ्ती वा अनिवार्य भर्ना लगायत बलपूर्वक लगाइएको वा अनिवार्य श्रम

Ø वेश्यावृत्ति, अश्लील चित्र प्रदर्शन लागि बालबालिकाको प्रयोग वा किनबेच

Ø गैर कानुनी क्रियाकलाप खासगरी सम्बन्धित अन्तराष्ट्रिय सन्धिहरूमा परिभाषा गरिए बमोजिमका लागुऔषधहरुको दुरुपयोग र ओसारपसारका निम्ति बालबालिकाहरूलाई प्रयोग गर्ने विषयसँग सम्बन्धित सवाल

Ø राष्ट्रिय अख्तियार प्राप्त अधिकारीहरूले निर्णय गर्ने त्यस्तो कुनै पनि काम जसको प्रकृति वा सो काम गर्ने वातावरणका कारणले गर्दा बालबालिकाको स्वास्थ्य, सुरक्षा र नैतिकतामा दखल पर्ने सम्भावना रहन्छ ।

तर वास्तविक अवस्था त्यो भन्दा फरक छ । आमाबाबुको आर्थिक अवस्था कमजोर भएको कारणले बालबालिकाहरू श्रम शोषणमा परिरहेका छन् । कोभिडको कारण र विश्वव्यापी रूपमा आएको आर्थिक मन्दीले बाबुआमाको कामबाट निष्कासन वा अवकाश पश्चात् दैनन्दिन क्रियाकलापमा बालबालिकाहरू श्रमिकको रूपमा प्रयोग भएको देखिन्छ । औपचारिक श्रमिकको रूपमा बालबालिकाहरू प्रयोग भएका छैनन्। तर अनौपचारिक श्रमिकको रूपमा बालबालिकाहरू प्रयोग भइरहेका छन् । बजारी क्षेत्रमा घरायसी कामदारको रूपमा बालबालिकाहरू प्रयोग भइरहेका छन् । बालबालिकाको स्याहार गर्ने, गाउँका बालबालिकाहरूलाई सहरमा पढाइदिने, गाडीमा सहयोगीको रूपमा राख्ने, होटलहरुमा सरसफाइ कर्मचारीको रूपमा राख्ने जस्ता चलनले बालबालिकाहरू श्रम शोषणमा परिरहेका छन् ।

बाल अधिकारले बालबालिकाहरू जुनसुकै ठाउँमा जन्मे हुर्के पनि उनीहरूको आधारभूत आवश्यकता माया, ममता,संरक्षण, स्वस्थ वातावरण, उचित पोषण , शिक्षा र विकासका अवसर पाउने कुराको वकालत गर्दछ । तर बाल श्रममा परेका बालबालिकाहरू यस्ता नैसर्गिक अधिकारबाट वञ्चित भएका छन् । बाल श्रममा परेका बालबालिकाहरूले बाल्यावस्थामा पाउनु पर्ने उचित वातावरण, स्याहार सम्मान, सहभागिताको कमीले भविष्यमा क्षमतावान् मानव स्रोत बन्नबाट पछाडि परेका छन्  ।

अहिलेका बालबालिकाहरू राम्रा भएमा भोलिको समाज समुन्नत र समृद्ध हुनेछ । आफ्ना भावी सन्ततिको उज्ज्वल भविष्यको निम्ति अभिभावक तथा राष्ट्रले विशेष जिम्मेवारी लिउन् भन्ने उद्देश्यले संयुक्त राष्ट्रसङ्घले बाल अधिकार सम्बन्धी महासन्धि पारित गरेको छ । यो सन्धि सन् १९८९ नोभेम्बर २० मा संयुक्त राष्ट्रसङ्घको महासभाबाट पारित गरिएको थियो । बालबालिकाको अधिकारका निम्ति पारित यो सन्धि राज्य राज्यहरूबिचको एक साझा कानुन हो । त्यसैले यो राज्य तथा अभिभावकले बुझ्नु महत्त्वपूर्ण हो ।

यस महासन्धिलाई नेपालले १४ सेप्टेम्बर १९९० मा निःशर्त अनुमोदन गरिसकेको छ । नेपालमा पनि यस महासन्धिलाई अनुमोदन गरेपछि बालबालिका ऐन २०४८ लागु गरियो भने, सो ऐनलाई संशोधन गरेर २०७५ मा बालबालिका सम्बन्धी ऐन लागु गरिएको छ । यो ऐन बाल अधिकार महासन्धिअन्तर्गत रहेको छ ।

र अन्यमा,
शारीरिक वा मानसिक तवरले परिपक्व मान्छेले गर्ने काम श्रम हो भने बालबालिकाले अपरिपक्व उमेरमा गर्ने शारीरिक वा मानसिक काम बाल श्रम हो । यसमा जुनसुकै प्रकारको रोजगार युक्त काम जहाँ बालबालिकाको बाल्यकालमा प्रत्यक्ष असर पुग्दछ । स्कुल जान अवरोध पुग्दछ । मानसिक, सामाजिक र शारीरिक रूपमा बालबालिकाहरूलाई असर पुर्‍याउने नियमित कामहरूमा बालबालिका संलग्न हुन्छन् वा गराइन्छ भने त्यसलाई बालश्रम भनिन्छ । यसले भोलिको समाजलाई असर गर्दछ । बालबालिकाको लागि आवश्यक शिक्षा तथा उसको प्राकृतिक विकासको अवसरबाट वञ्चित गराउँदछ ।बाल श्रम विरुद्धको विश्व दिवसको उद्देश्य बालश्रमको विश्वव्यापी विस्तार र यसलाई हटाउनका लागि आवश्यक कार्य र प्रयासहरूमा ध्यान केन्द्रित गर्नु हो । प्रत्येक वर्ष १२ जुनमा यो दिवस मनाउने गरिन्छ ।

विगतका वर्षहरूमा जस्तै यसले सरकार, रोजगारदाता र श्रमिक सङ्गठनहरू, नागरिक समाज साथै विश्वभरका करोडौँ मानिसहरूलाई बाल श्रमिकहरूको दर्दनाक अवस्था, यसले भविष्यमा पार्ने असर, उनीहरूलाई मद्दत गर्न के गर्न सकिन्छ भनेर यो दिवस मनाइन्छ । अन्तराष्ट्रिय श्रम सङ्गठन आइ एल ओ ले सन् २००२ देखि यो दिवस मनाउन थालेको हो । यस वर्षको नारा बाल श्रम अन्त्यको लागि सँगसँगै प्रतिबद्धता गरौँ भन्ने रहेको छ । यस नाराले भन्न खोजेको कुरा व्यवहारमा उतार्न सकियोस् कहीँ कतै बालश्रमिकहरु देख्न नपरोस् । शुभकामना । 

Tags :
प्रतिक्रिया दिनुहोस