काठमाडौँ । नेकपा एमालेका सांसद किरणकुमार शाहले काठमाडौँ उपत्यकालाई छुट्टै प्रदेश बनाउन माग गरेका छन् ।
प्रतिनिधि सभाको बैठकमा बोल्दै स्थानीय तहको अधिकारलाई कटौती गरी प्रदेशको प्रशासनिक इकाइको रूपमा पुनर्संरचना गर्न प्रस्ताव राखे।
उनको भने, ‘प्रदेश संरचनालाई कमजोर बनाउने बद्नीयता साथ स्थानीय निकायलाई निकै शक्तिशाली बनाइयो। त्यसको परिणाम आज संघ सरकारले नै भोग्नुपरेको छ। एकतिर काठमाडौं महानगरले संघको अधीनमा रहेको सडक भत्काउँछ, अर्कोतिर संघले फेरि पुर्छ। धरान उपमहानगरपालिकाले हवाइ कानून समेत मान्दिन आफ्नै एरपोर्ट बनाउँछु भन्यो। प्राय स्थानीय निकायले संघबाट पठाइएको कर्मचारी सकेसम्म चाँडो भगाउन खोज्छ। स्थानीय निकाय भ्रष्टाचार र वेथितीको इपिसेन्टर बनेको छ। त्यसकारण स्थानीय निकायको असीमित अधिकार कटौती गरी त्यसलाई प्रदेशको प्रशासनिक इकाइको रूपमा पुनर्संरचना गरौँ। काठमाडौँले गरिब जनतासँगको गरेको दुर्व्यवहार र स्वच्छारीतालाई हेरी उपत्यकालाई छुटै प्रदेश बनाऔँ। छिमिके मुलुक भारतमा पनि राजधानी दिल्लीलाई छुट्टै प्रदेश बनाइएको छ। यसका लागि सरकारलाई आवश्यक कदम चाल्न माग गर्छु।







