धितोपत्र बोर्ड र बीमा व्यवसायीबीच छलफल « प्रशासन
Logo ३ असार २०८१, सोमबार
   

धितोपत्र बोर्ड र बीमा व्यवसायीबीच छलफल


१३ जेष्ठ २०८१, आइतबार


काठमाडौँ । नेपाल निर्जीवन बीमा व्यवसायी संघले आज नेपाल धितोपत्र बोर्डका कार्यकारी निर्देशक डा. नवराज अधिकारीसँग भेट गरी संघका तर्फबाट सुझावहरू प्रस्तुत गरेको छ । 

कम्पनीका सञ्चालकहरूको शेयर पदमा रहँदा र पदबाट हटेको एक वर्षसम्म पनि बिक्री गर्न नपाइने व्यवस्थाले गर्दा कैयौँ वर्षदेखि लगानीकर्ता सञ्चालकहरूले आफूलाई व्यक्तिगत रूपमा अप्ठ्यारो परेको भन्दै संघले बोर्डको ध्यानाकर्षण गराएको थियो । 

संघका अध्यक्ष राजेन्द्र मल्लले लगानीकर्ताहरूका तर्फबाट निर्वाचित भई सञ्चालक समितिमा प्रतिनिधित्व गरेको भरमा आफूसँग रहेको शेयर सधैँ रोक्का नै गरिराख्नु न्यायोचित नहुने बताए । 

“शेयर सधैँ रोक्का नै गरिराख्नु न्यायोचित नहुँदा यो प्रावधानलाई पुनरावलोकन गर्न अनुरोध गरिएको छ,” उनले भने । 

भारतलगायत अन्य मुलुकमा पनि अग्रिम रूपमा सञ्चालकले घोषणा गरेर शेयर बिक्री गर्ने व्यवस्था रहेको र नेपालमा पनि त्यस्तै व्यवस्था गरी वा नियमनकारी निकायको स्वीकृति लिई निश्चित सीमासम्म आफ्नो शेयर बिक्री गर्न सकिने व्यवस्था गर्न बोर्डको ध्यानाकर्षण गराइएको थियो । 

भेटमा संघका तर्फबाट अध्यक्ष राजेन्द्र मल्ल, उपाध्यक्ष मनोहर दास मूल, कोषाध्यक्ष रमेशकुमार निरौला, सदस्य आजाद श्रेष्ठ एवं  बालकृष्ण श्रेष्ठ उपस्थित थिए ।

Tags :
प्रतिक्रिया दिनुहोस