१ वर्षमा ५१ डलरले बढ्यो नेपालीको आम्दानी  « प्रशासन
Logo ३ असार २०८१, सोमबार
   

१ वर्षमा ५१ डलरले बढ्यो नेपालीको आम्दानी 


१३ जेष्ठ २०८१, आइतबार


काठमाडौँ । एक वर्षमा नेपालीको आम्दानी ५१ डलरले बढेको तथ्यांक सरकारले सार्वजनिक गरेको छ । आर्थिक सर्वेक्षण २०८०/८१ को आर्थिक सर्वेक्षणले चालू वर्ष प्रतिव्यक्ति राष्ट्रिय आय १ हजार ४ सय ५६ अमेरिकी डलर पुग्ने अनुमान गरेको छ ।

यो गत वर्षको भन्दा ५१ डलरले बढी हो । गत वर्ष प्रतिव्यक्ति राष्ट्रिय आय १ हजार ४ सय ५ अमेरिकी डलर थियो । पछिल्लो समय प्रतिव्यक्ति राष्ट्रिय आय क्रमशः बढ्दै गएको देखिन्छ । चालु आर्थिक वर्ष प्रति व्यक्ति कुल राष्ट्रिय आय गत वर्षको तुलनामा ३६ प्रतिशतले वृद्धि हुने अनुमान छ ।

यस्तै कुल खर्च योग्य आय पनि बढेको छ । चालु वर्ष प्रतिव्यक्ति कुल खर्च योग्य आय १ हजार ८ सय ४३ अमेरिकी डलर पुग्ने अनुमान गरिएको छ । गत वर्ष १ हजार ७ सय ५५ अमेरिकी डलर थियो । गत आर्थिक वर्ष प्रति व्यक्ति कुल गार्हस्थ्य उत्पादन (प्रचलित मूल्यमा) १ लाख ८१ हजार ५ सय ६९ रहेकोमा चालू आर्थिक वर्ष १ लाख ९१ हजार ८ सय ८८ पुग्ने अनुमान छ ।

चालू आर्थिक वर्ष प्रति व्यक्ति कुल गार्हस्थ्य उत्पादन ५।७ प्रतिशतले बढ्ने अनुमान छ । पछिल्लो दशक प्रतिव्यक्ति कुल गार्हस्थ्य उत्पादनको वार्षिक औसत वृद्धिदर ९.१ प्रतिशत रहेको छ । गत आर्थिक वर्ष प्रति व्यक्ति कुल गार्हस्थ्य उत्पादन १३८९ अमेरिकी डलर रहेकोमा चालु आर्थिक वर्ष १४३४ अमेरिकी डलर पुग्ने अनुमान छ ।

Tags :
प्रतिक्रिया दिनुहोस