लागुऔषध कारोबारी पक्राउ गर्न गोली प्रहार « प्रशासन
Logo ७ जेष्ठ २०८१, सोमबार
   

लागुऔषध कारोबारी पक्राउ गर्न गोली प्रहार


२७ बैशाख २०८१, बिहिबार


नेपालगञ्ज । बाँकेको जानकी गाउँपालिका-६ स्थित गनापुरमा लागुऔषध कारोबारी पक्राउ गर्न आज प्रहरीले गोली प्रहार गरेको छ । 

लागुऔषध नियन्त्रण ब्युरो, काठमाडौँबाट खटिएको प्रहरी टोली र जिल्ला प्रहरी कार्यालय, बाँकेबाट खटिएको संयुक्त टोलीले पक्राउ गर्न खोज्दा भागेपछि गोली प्रहार गरिएको जिल्ला प्रहरी कार्यालय, बाँकेका प्रहरी नायब उपरीक्षक नारायण डाँगीले जानकारी दिए । 

उनले कोहलपुर नगरपालिका-१२ चप्परगौडी निवासी २६ वर्षीय सुशील परियारलाई गोली प्रहार गरी पक्राउ गरिएको बताए। परियारको बायाँ खुट्टामा गोली लागेको र उनको अहिले भेरी अस्पताल, नेपालगञ्जमा उपचार भइरहेको प्रहरीले जनाएको छ । 

साथै प्रहरीले स्थानीय २७ वर्षीय शरणबहादुर कार्कीलाई पक्राउ गरेको छ । उनीहरूको साथमा रहेको ११४ दशमलव २५ ग्राम ब्राउन सुगर प्रहरीले बरामद गरेको छ । कार्कीलाई जिल्ला प्रहरी कार्यालय, बाँकेको हिरासतमा लिइएको छ । 

पक्राउ परेकाहरूलाई लागुऔषध कारोबारसम्बन्धी मुद्दा चलाइने प्रहरी नायब उपरीक्षक डाँगीले जानकारी दिए। प्रहरीका अनुसार उनीहरूलाई लागुऔषधको कारोबार गरिरहेको भन्ने सूचना पाएपछि लामो समदेखि प्रहरीले निगरानीमा राखेको थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस