अर्थमन्त्री पुनसँग १४ अन्तर्राष्ट्रिय वित्तीय संस्थाका प्रतिनिधिको भेट « प्रशासन
Logo २४ बैशाख २०८१, सोमबार
   

अर्थमन्त्री पुनसँग १४ अन्तर्राष्ट्रिय वित्तीय संस्थाका प्रतिनिधिको भेट


१२ बैशाख २०८१, बुधबार


काठमाडौँ । नेपालका बैंक तथा वित्तीय संस्थामार्फत निजी क्षेत्रसँगको सहकार्यमा नेपालको विभिन्न क्षेत्रमा लगानी गर्दै आएको वित्तीय विकास संस्था (डेभलप्मेन्ट फाइनान्स इन्स्टिच्युसन) को प्रतिनिधि मण्डलले अर्थमन्त्री वर्षमान पुन अनन्तसँग शिष्टाचार भेट गरेको छ ।

नेपालका लागि स्वीजरल्याण्डकी राजदूत डा. डेनियल मेउलको संयोजनमा विभिन्न १४ वटा अन्तर्राष्ट्रिय वित्तीय संस्थाका प्रतिनिधि सम्मिलित टोलीले मन्त्री पुनलाई बुधबार अर्थ मन्त्रालयमा भेटेको हो ।

त्यसक्रममा प्रतिनिधि मण्डलका सदस्यहरूले आफूहरू नेपालमा लगानीको क्षेत्र विस्तारका लागि इच्छुक रहेको भन्दै थप लगानी ल्याउने प्रतिबद्धता जनाएका थिए ।

हालसम्म वाणिज्य बैंकहरुसँग मात्र सहकार्य गर्दै आएकामा आगामी दिनमा विकास बैंक र लघु वित्तमार्फत पनि लगानी गर्न चाहेको उनीहरूले बताए । उक्त संस्थाले हालसम्म नेपालमा बैंकहरुमार्फत ऊर्जा, कृषि, महिला उद्यमशीलता र पिछडिएको क्षेत्रका लागि ६ सय मिलियन डलर लगानी गरेको छ । भेटमा मन्त्री पुनले वैदेशिक लगानी आकर्षित गर्ने नीतिमा सरकार रहेको बताए ।

सरकारले देशभित्र र बाहिरको निजी क्षेत्रका लागि लगानीमैत्री वातावरण बनाएको उनको भनाइ थियो । प्रतिनिधि मण्डलमा अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएफसी), एसियन विकास बैंक (एडीबी), अमेरिकी अन्तर्राष्ट्रिय विकास वित्त निगम (डीएफसी), बेलायती सरकारको स्वामित्वमा रहेको ब्रिटिस इन्टरनेशनल इन्मेष्टमेन्ट, बेल्जियमको बीआई ओ इनभेष्टिङका साथै जर्मनी, फ्रान्स, नेदरल्याण्ड, स्वीट्जरल्याण्ड, स्वीडेनका सरकारी स्वामित्वका कम्पनीका प्रतिनिधि संलग्न थिए ।

२००७ मा नेपाल आएको इन्स्टिच्युसनले २०७८ सालमा नेपाल राष्ट्र बैंकले विदेशी लगानी तथा विदेशी ऋण व्यवस्थापन विनियमावलीको तेस्रो संशोधन गरेपछि कर्जा लगानी बढाएको हो । चालू आर्थिक वर्षको हालसम्म उक्त संस्थाले नेपालमा करिब १५० मिलियन अमेरिकी डलर लगानी गरेको छ । सो संस्थाले आगामी १६ र १७ वैशाखमा काठमाडौँमा हुने तेस्रो अन्तर्राष्ट्रिय लगानी सम्मेलनमा एउटा छुट्टै सत्रको समेत आयोजना गरेको छ ।

यसअघि सोही प्रतिनिधिमण्डलले अर्थ मन्त्रालयका सचिव मधुकुमार मरासिनीसँग भेटेको थियो । त्यस क्रममा सचिव मरासिनीले सरकार लगानीमैत्री वातावरण निर्माणका लागि प्रतिबद्ध रहेको भन्दै केही दिनअघि मात्र अध्यादेशमार्फत लगानी प्रतिकूल ठानिएका विभिन्न ९ वटा ऐन संशोधनको निर्णय गरेको बताए ।

Tags :
प्रतिक्रिया दिनुहोस