प्रदीप पौडेलले भने-दलका नेतृत्व मठाधीश बनेका कारण लोकतन्त्रमाथि टीकाटिप्पणी भयो « प्रशासन
Logo २१ बैशाख २०८१, शुक्रबार
   

प्रदीप पौडेलले भने-दलका नेतृत्व मठाधीश बनेका कारण लोकतन्त्रमाथि टीकाटिप्पणी भयो


११ बैशाख २०८१, मंगलबार


काठमाडौँ । नेपाली काँग्रेसका सांसद प्रदीप पौडेलले राजनीतिक दलका नेतृत्व मठाधीश बनेका कारण लोकतान्त्रिक प्रणालीमाथि नै टीकाटिप्पणी हुने गरेको बताएका छन् ।

मंगलबार काठमाडौँमा आयोजित लोकतान्त्रिक प्रणालीमा नीति, नेतृत्व र नैतिकता विषयक संवाद कार्यक्रममा बोल्दै सांसद पौडेलले दलका नेतृत्वहरू मठाधीश बनेका कारण लोकतन्त्रमाथि प्रश्न उठ्न थालेको बताएका हुन् । उनले अहिलेको लोकतन्त्रमा नीति, नेतृत्व र नैतिकता नै नभएको टिप्पणी गरे ।

उनले लोकतन्त्रको विकल्प अर्को कुनै शासन प्रणाली नहुने स्पष्ट पार्दै संविधानलाई कार्यान्वयन गर्न नसक्दा लोकतन्त्र कमजोर हुने बताए । उनले संविधानले कुनैपनि मठाधीश, निरंकुश शासक र सामन्तीको परिकल्पना नगरेको भए पनि नेतृत्वको व्यवहार निरंकुश शासक र सामन्तीको भन्दा फरक नभएको बताए ।

दलमा नेतृत्वकै कुरा सर्वेसर्वा हुने भन्दै उनले नेतृत्व मठाधीशको रूपमा प्रस्तुत हुने गरेका बताए । उनले राजनीतिक दलहरूले आन्तरिक लोकतन्त्रको सम्पूर्ण रूपमा प्रयोग नगरेसम्म दलीय व्यवस्था सुदृढ हुन नसक्ने बताए ।

उनले लोकतन्त्रलाई विधिको शासनको रूपमा महसुस गराउन र कानूनी राज्य भएको स्थिति निर्माण गर्न दलभित्र व्यापक सुधारको आवश्यकता रहेको बताए ।

Tags :
प्रतिक्रिया दिनुहोस