प्रदेश प्रमुख गैरजिम्मेवार, प्रदेश सभामा द्वन्द्वको वातावरण सिर्जना हुन्छ : गण्डकी काँग्रेस « प्रशासन
Logo १८ बैशाख २०८१, मंगलबार
   

प्रदेश प्रमुख गैरजिम्मेवार, प्रदेश सभामा द्वन्द्वको वातावरण सिर्जना हुन्छ : गण्डकी काँग्रेस


५ बैशाख २०८१, बुधबार


काठमाडौँ । नेपाली काँग्रेस गण्डकी संसदीय दलका नेता सुरेन्द्रराज पाण्डेले प्रदेश सरकारले सर्वोच्च अदालतको आदेश अवहेलना गरेको बताएका छन् ।

बुधवार प्रेस विज्ञप्ति जारी गर्दै पाण्डेले सर्वोच्चको आदेश अवहेलना हुने गरी सरकारले विभिन्न नियुक्ति र प्रदेश सभा बैठक आह्वान गर्नु गैरजिम्मेवार भएको बताएका हुन् ।

‘‘अदालतको आदेशको समेत अवहेलना हुने गरी गण्डकी प्रदेश सरकारले विभिन्न नियुक्तिहरू गर्नु तथा वैशाख ७ गते दिउँसो ३ बजेकालागि प्रदेश सभा बैठक आह्वान गर्न सिफारिस गर्नु र मा। प्रदेश प्रमुखले बैठक आह्वान गर्नु अर्को गैर जिम्मेवार कदम हो,’ जारी विज्ञप्तिमा भनिएको छ ।

आदेश र संविधानको बेवास्ता गर्दै गरिएका क्रियाकलापप्रति गम्भीर असहमति रहेको निवर्तमान मुख्यमन्त्री पाण्डेले बताए । यसबाट प्रदेश सभामा द्वन्द्वको वातावरण सिर्जना हुने पाण्डेले उल्लेख गरे ।

सर्वोच्च अदालतले मुख्यमन्त्री अधिकारी नेतृत्वको गण्डकी प्रदेश सरकारलाई दीर्घकालीन असर पर्ने निर्णयहरू नगर्न अन्तरिम आदेश दिएको छ ।

सर्वोच्चका न्यायाधीश विनोद शर्माको एकल इजलासले चैत २८ गते सरकारलाई नियमित कार्य सञ्चालन बाहेकका काम नगर्न रोक लगाएको हो ।

अर्को पेशी वैशाख १० लाई तोकिएको छ । तर, मुख्यमन्त्रीले त्यस अगावै विश्वासको मत लिने तयारीमा जुटेका छन् । सोहीअनुसार वैशाख ७ गते प्रदेश सभा अधिवेशन आह्वान भएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस